विपन्नको घर छाउँदै गलकोट नगरपालिका

पोखरा न्यूज- २६, मंसिर ।

गलकोट नगरपालिका–३ कार्यालय हटियाले विपन्न परिवारको खरको छाना विस्थापित गर्दै जस्ता पाताले छाइदिएको छ । वडा कार्यालयको क्षेत्रभित्र रहेका विपन्न परिवारको घरलाई जस्तापाताले छाइदिएको वडा कार्यालय हटियाले जनाएको छ ।

गलकोट नगरपालिकाले वडा कार्यालयको पहलमा खरको छाना भएको घरको तथ्याङ्क सङ्कलन गरी वडा कार्यालय क्षेत्रभित्र रहेका २४ घरमा रहेको खरको छाना विस्थापित गरी जस्तापाताले छाइदिएको छ ।

वडा कार्यालयले अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा गरी रु छ लाख बराबरको जस्तापात उपलब्ध गराई विपन्न परिवारलाई हस्तान्तरण गरेसँगै हटिया वडा खरको छानामुक्त वडा भएको वडा अध्यक्ष वीरजङ्ग भण्डारीले बताए । भण्डारीले भने, “खरको छानाका विस्तावित गर्दा आगलागी जस्ता प्राकृतिक प्रकोपको जोखिम समेत घटेर गएको छ ।”

सामाजिक विकासअन्तर्गतको योजनामा समावेश गरिएको वडास्तरीय विपन्न परिवारलाई जस्तापाता वितरण कार्यक्रम पूर्णरुपमा सफल भएको गलकोट नगरपालिकाले जनाएको छ ।

हटिया वडाको बोहोराफाँट, बराहाथान, कोटमैदान, स्यालालगायतका ठाउँका विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको वडा सदस्य झहरबहादुर खत्रीले बताए । वडा कार्यालयमार्फत जस्तापाता पाएर घर छाउने अधिकांश दलित परिवार हरको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button