अन्नपूर्ण संरक्षण क्षेत्रमा शिकारी पक्राउ

पोखरा न्यूज- २६, मंसिर ।

थासाङ गाउँपालिका–२ कोवाङको छोङगुमा जङ्गली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा एक शिकारी थलामै पक्राउ परेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको नेतृत्वमा गएको गस्ती टोलीले साढे दुई किलो जङ्गली जनावरको मासु, दुई थान पासो र खुकुरीसहित शिकारीलाई पक्राउ गरेको हो ।

तीन हजार ५०० मिटर उचाइको जङ्गलमा मासु पकाउँदै र पासो थाप्दै गरेको अवस्थामा रोल्पाका ५७ वर्षीय मोहनबहादुर मगरलाई मङ्गलबार पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

मासुको परीक्षण र थप अनुसन्धानका लागि मगरलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको पोखरास्थित कार्यालयमा पठाइने प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए ।

कोवाङको जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीको चोरी शिकार बढेपछि प्रहरी र एक्यापका कर्मचारीसहित गस्तीमा जाने क्रममा रङ्गेहात शिकारी पक्राउ गर्न सफल भएको संरक्षण क्षेत्र व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले बताए ।

थकालीका अनुसार मगरको साथबाट बरामद गरिएको मासु कस्तुरी मृग र घोरलको हुनसक्ने अनुमान गरिएको छ । डेढ किलो पकाएको र एक किलो काँचो मासु बरामद भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button