म्याग्दीका बीस सामुदायिक विद्यालय भवन पुनःनिर्माण शुरु

पोखरा न्यूज- २७, मंसिर ।

म्याग्दीका २० सामुदायिक विद्यालय पुनःनिर्माण थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइले भूकम्प, बाढीपहिरोलगायत विपद्का कारण भत्किएका र जोखिममा परेका भवन पुनःनिर्माण गर्न थालेको हो ।

दश विद्यालय चारकोठे, दुई तीनकोठे र आठ दुईकोठे भवन पुनःनिर्माण गरिने एकाइका प्राविधिक राजकुमार शाहीले जानकारी दिए । चारकोठे भवन पुनःनिर्माण हुनेमा रघुगङ्गा गाउँपालिका–३ पिप्लेको रघुगङ्गा मावि, कुइनेमङ्गलेको रितुङ मावि, बेनपा–२ भकुण्डेको अर्जुन मावि, बेनपा–४ सिङ्गाको धवलागिरि मावि, अन्नपूर्ण गाउँपालिका–८ नाङ्गीको हिमाञ्चल मावि, मङ्गला गाउँपालिका–१ पूर्णगाउँको राष्ट्रिय जनजागृति मावि, बाबियाचौरको मङ्गला मावि, मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय मावि, ओखरबोटको ओखरबोट मावि र घवलागिरि गाउँपालिका–३ फलियागाउँको धनजनता मावि रहेका छन् ।

गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले रितुङ माविको तीन वटा भवनको सात कोठा बगाएपछि त्यहाँका विद्यार्थी त्रिपालमुनि बसेर पढ्दै आएका छन् । चारकोठे भवन पुनःनिर्माणका लागि बढीमा रु ७० लाख ४० हजारसम्म अनुदान दिइने प्राविधिक शाहीले बताए ।

यसैगरी बेनपा–४ तातोपानीको सरस्वती मावि र रघुगङ्गा गाउँपालिका–१ बेगको महादेव माविका तीन-तीन कोठे भवन पुनःनिर्माण गरिने र त्यसका लागि प्राधिकरणले रु ३५ लाख ८० हजारसम्म अनुदान दिने भएको छ ।

यसैगरी गत साउन अन्तिम साता कालीगण्डकीमा आएको बाढीले बगाएको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयको दुईकोठे भवन पुनःनिर्माण गरिने भएकोे छ ।

दुईकोठे भवन बन्नेमा बेनपा–३ डोलेको मुसुङ आधारभूत, बेनपा–८ कालीपुलको बालमन्दिर आधारभूत, रघुगङ्गा गाउँपालिका–२ भगवतीको देउराली आधारभूत, पाखापानीको अमर मावि, कुइने आधारभूत र मङ्गला गाउँपालिका–१ भरजुलाको बालोदय आधारभूत विद्यालय परेका छन् ।

दुईकोठे भवनका लागि छनोट भएको धवलागिरि गाउँपालिका–७ मच्छिमको भुमे आधारभूत विद्यालयले जग्गा उपलब्ध नभएकाले ट्रस भवन बनाउने भएकाले स्विकृत योजना फिर्ता गरेपछि सोही वडाको हेम मावि पुनःनिर्माण गरिने भएको छ ।

दुईकोठे भवन निर्माणका लागि रु २३ लाख अनुदान दिइने भएको छ । चालु आर्थिक वर्षभित्रै भवन निर्माण गरिसक्ने आयोजनाका प्रमुख शिवराम गेलालले बताए । भवन पुनःनिर्माणका लागि ४९ विद्यालयको निवेदन परेकामा आर्थिक वर्ष २०७३-७४ मा चार र २०७४-७५ मा सात विद्यालय पुनःनिर्माण गरिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button