तनहुँमा सार्वजनिक जग्गामा सञ्चालित पेट्रोलपम्प बन्द

पोखरा न्यूज- २७, मंसिर ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित सार्वजनिक जग्गामा सञ्चालित छाब्दी आयल स्टोर्स गाउँपालिकाले बन्द गराएको छ । मङ्सिर ४ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाले आज उक्त पेट्रोलपम्प बन्द गराएको हो ।

विगत १०/१२ वर्षदेखि सार्वजनिक जग्गा मिचेर सञ्चालन हुँदै आएको स्टोर्सलाई पटक–पटक उक्त ठाउँबाट हट्न आग्रह गरे पनि अटेर गरेपछि बन्द गर्नुपरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

पृथ्वी राजमार्गको १० मिटर छेउमै सञ्चालित पेट्रोलपम्पले गर्दा बजार व्यवस्थापन गर्ने अभियानमा असहज भएपछि पेट्रोलपम्प बन्द गराइएको उनले जानकारी दिए । उनले भने, “बजार व्यवस्थापन गर्नका लागि स्थानीयवासीले पनि उक्त पेट्रोलपम्प त्यहाँबाट हटाउनुपर्ने माग राखेका थिए । पेट्रोलपम्पकै कारण बजार क्षेत्रमा सार्वजनिक सवारीसमेत अस्तव्यस्त हुने गरेको थियो ।”

सार्वजनिक जग्गाबाट पेट्रोलपम्प हटाउन यसअघि नेपाल आयल निगम, सडक डिभिजन कार्यालय तनहुँ र गाउँपालिकाले पटक–पटक आग्रह गरेको थियो । सार्वजनिक जग्गाको संरक्षण गर्ने अभियानमा गाउँपालिका रहेकाले अन्य ठाउँका अतिक्रमित संरचनासमेत क्रमशः हटाउँदै जाने थापाले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले केही समय अघिदेखिनै सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको घर तथा टहरा भत्काउने अभियान शुरु गरिएको जानकारी दिए । स्टोर्सका सञ्चालक राजकपुर पियाले भने बिना जानकारी गाउँपालिकाले पेट्रोलपम्प बन्द गराएको प्रतिक्रिया दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button