बागलुङ नगरपालिकाको कार्यालय बजारमा

पोखरा न्यूज- २८, मंसिर ।

वडाध्यक्षहरुले सामूहिक ज्ञापनपत्र बुझाएको तीन महीनापछि बागलुङ नगरपालिकाको कार्यालय बजारमा सरेको छ । सर्वसाधारणका लागि पायक पर्ने ठाउँको खोजी गर्दै नगरकार्यपालिकाको कार्यालय कृषि ज्ञान केन्द्रको सम्पर्क कार्यालय रहेको तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा सारिएको हो ।

नगरप्रमुख जनकराज पौडेलको नेतृत्वमा वडा नं २ मा बिहिबार भेला भएपछि सामूहिक रूपमा कृषि कार्यालय पुगेर नगरपालिकाको सङ्केतपाटी टाँगिएकोे थियो । उनीहरुले कार्यालयको ताला फोडेरै नगरपालिकाको बोर्ड टाँगेका थिए ।चालु आर्थिक वर्षदेखि कृषि विकास कार्यालय खारेजीमा परेपछि त्यहाँ हाल कृषि ज्ञान केन्द्र पर्वतको शाखा राखिएको थियो ।

यसबाट जनतालाई पनि सेवा पुग्ने, प्रदेशस्तरीय मन्त्रालयसंग समन्वय पनि गर्न सकिने नगरप्रमुख पौडेलले बताए । कार्यालय टाढा भएकाले जनताले दुःख पाएको भन्दै पटकपटक बजारमा झार्न माग भएको उनले जानकारी दिए । नगरपालिका हालको वडा नं ३ स्थित रातमाटाबाट मुख्य बजार रहेको वडा नं २ मा सारिएको थियो ।

उक्त केन्द्र प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले सम्बद्ध मन्त्रालयले कर्मचारीलाई अप्ठ्यारोमा पारेको बताए । उनले जनताको सेवाका लागि भवन प्रयोग हुने काम राम्रो भए पनि मन्त्रालयले कार्यालय राख्न भने पनि सहजै दिन नसकेको बताए ।

जिल्ला समन्वय प्रमुख तथा प्रमुख जिल्ला अधिकारी नतृत्वको समितिले सबै सरकारी सम्पत्तिको अध्ययन र प्रतिवेदन तयार गरेपछि खाली भएका भवनको लागत अनुसारै कार्यालय सारिएको नगरप्रमुख पौडेलले बताए । उक्त भवनमा नगरपालिकाको कृषि विकास शाखाको बोर्ड पनि टाँगिएको छ ।

नगरप्रमुखकै नेतृत्वको टोलीले बिहीबार तत्कालीन महिला तथा बालबालिका कार्यालयमा नगरपालिकाको तीन शाखा स्थापना पनि गरेको छ । यो कार्यालयमा उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समिति तथा महिला तथा बालबालिका एकाइ र अल्पकालीन महिला सेवा केन्द्र स्थापना गरिएको छ । हाल उक्त कार्यालय खाली थियो ।

त्यस्तै साविकको जिल्ला भूसंरक्षण कार्यालय रहेको भवनमा नगरपालिकाको सहकारी शाखा सारिएको छ । भूसंरक्षण कार्यालय खारेजीमा परेपछि खाली रहेको भवनमा शहकारी शाखा स्थापना गरिएको हो । हाल नगरकार्यपालिकाको कार्यालय रहेको भवनमा शिक्षा स्वास्थ्यलगायतका केही शाखा रहने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button