ढाकाको कपडा उद्योगबाट मनग्य आम्दानी

पोखरा न्यूज- २८, मंसिर ।

ढाकाको कपडा उद्योग स्थापना गरी दमौलीका विष्णु चौधरीले त्यसबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

नवलपरासी घर भएका ३० वर्षीय चौधरीले तनहुँको ब्यास नगरपालिका–२ मा २०६६ साल माघमा स्थापना गरेको निखिल ढाका कपडा उद्योगले एक वर्षमा नै उनलाई सफल उद्यमी बनाउन सहयोग त पुर्यायो नै आम्दानीको गतिलो स्रोत पनि बनाइदियो । रु तीन लाखको लगानीमा स्थापना गरेको उद्योगले सबै खर्च कटाएर मासिक रु ७० हजार आम्दानी गर्दै आएको छ । पहिले टोपी र चोलीमात्र बन्ने गरेपनि समयको परिवर्तन र ग्राहकको मागसँगै अन्य कपडा पनि बन्न थालेपछि उनको ढाका व्यवसायले सफलता प्राप्त गरेको छ । ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरासुरुवाल, पाल्पाली ढाका टोपी, तेह्रथुम साडीको राम्रो व्यापार हुने गरेको चौधरीले  बताए।

उनले भने ,“सबै उपभोक्तालाई समेट्नसक्नु नै ढाका व्यवसायको सफलता हो ।” उनले भनेझैं उद्योगमा ढाकाको कपडा किन्न सबै खाले ग्राहक पुग्छन् । अझ अहिले जाडो मौसम भएकाले टोपी,
पछ्यौरा र चौबन्दी बढी बिक्री हुने गरेको उनले बताए ।

उनको उद्योगबाट उत्पादित ढाकाका सामग्री यहाँमात्र सीमित छैन । उनले तनहुँका ग्रामीण भेग, लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौँ लगायतका ठाउँमा समेत यसको निर्यात गरिरहेका छन् । ढाकाको माग एकदमै बढेपनि उनले त्यो मागलाई पूरा गर्न सक्नुभएको छैन । उनले उद्योगमा तीन जनालाई रोजगारी दिँदै आएको भए पनि अझै केही कामदार आवश्यक परेको बताए । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पनि ढाकाको कपडा किन्ने गरेका छन् ।

ढाका कोसेली लैजाने संस्कारको विकास गराउन सके व्यापार अझै बढ्ने उनले बताए । ढाकाको कपडा नवलपरासी, कपिलवस्तु र तेह्रथुमबाट ल्याउने गरेको उनले जानकारी दिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button