बाग्लुङको काठेखोला घरबासका लागि उपयुक्तस्थल

पोखरा न्यूज –०३, पुष ।

काठेखोला गाउँपालिका–७ रेशमा सामुदायिक घरबास (होमस्टे) चलाउन गाउँले कस्सिएका छन् । घुमफिर, खानपान र संस्कृतिका हिसाबले रेश घरबासका लागि उपयुक्तस्थल हो । पर्यटन प्रवद्र्धनको उद्देश्यले घरबास योजना ल्याइएको हो ।

बौर, डोटा देउराली र रेश सामुदायिक घरबास गरी तीन घरबास सञ्चालनको तयारीमा छन् । “गाउँपालिकामा दर्ता गरी काम अघि बढाएका छौँ”, बौर सामुदायिक घरबासका अध्यक्ष होमबहादुर पुनले भने ।

उनका अनुसार पहिले पूर्वाधार तयारी र प्रचारप्रसारलाई जोड दिइएको छ । तीन वटैमा गरी कूल २१ घरमा घरबास सञ्चालन हुनेछ । बौरका पाँच, डोटा देउरालीका सात र रेशका नौ घर समेटिएका छन् । सबैमा गरी झण्डै १०० पाहुना राख्न सकिने जनाइएको छ । घरबास चलाउनेमा दुई जनजाति बाहुल्य बस्ती हुन् ।

“पाहुनालाई सेवासुविधा कसरी दिन सकिन्छ भन्नेतिर लागेका छौँ”, अध्यक्ष पुनले भने, “पूर्णरूपमा सेवा दिन केही समय लाग्ला ।” घरबासमा आउने पाहुनालाई पर्यटकीय ठाउँ घुमाउने, स्थानीय परिकार खुवाउने र संस्कृति देखाउने योजना गाउँलेको छ । ग्रामीण जीवनशैली, रहनसहनले पनि पर्यटक लोभ्याउने ठानिएको छ ।

कोदो, मकै, गहुँ, फापर, तोरी, आलुजस्ता स्थानीय उत्पादनबाट बन्ने परिकार घरबासमा उपलब्ध हुनेछन् । नजिकै रहेको चापाखर्क पर्यटकको लागि अर्को आकर्षण बन्ने देखिन्छ । करीब १९०० मिटरको उचाइमा अवस्थित चापाखर्क हिमशृङ्खला अवलोकनको लागि उत्तम गन्तव्य हो ।

“चापाखर्कबाट दर्जनौँ हिमाल देख्न सकिन्छ, यहाँको वातावरण नै पर्यटक लोभ्याउने खालको छ” वडा नं ७ का अध्यक्ष प्रेम लामिछानेले भने । आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा समेत घरबासले टेवा पुर्याउने उनको भनाइ छ । त्यहाँ पुग्ने पर्यटक पदयात्रा मार्फत गाजा दह, भकुण्डे, भैरवस्थान पुग्न सक्छन् ।

“व्यवस्थित पदमार्ग, पार्क, दृश्यावलोकन स्तम्भजस्ता पर्यटकीय संरचना बनाउने योजना छ”, अध्यक्ष लामिछानेले भने, “घरबाससँगै रेशको समग्र पर्यटन विकास हाम्रो प्राथमिकतामा छ ।” उनले घरबासका लागि पूँजीगत अनुदान दिन प्रदेश सरकारसँग माग र प्रस्तावना पठाइएको जानकारी दिए । गण्डकी प्रदेश सरकारले तय गरेको कार्यविधि र मापदण्डअनुसार घरबास चल्नेछ ।

प्रदेश सरकारले पनि गण्डकीमा ३०० घरबास चलाउने योजना अघि सारेको छ । एउटा घरबासका लागि रु १० लाखसम्म अनुदान दिने नीति छ । रेशमा पर्यटक भित्र्याउन घरबासले टेवा पुग्ने ठानिएको छ । घरबासले अन्य गन्तव्यस्थलको समेत उजागर हुनेछ ।

ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनका लागि घरबास प्रभावकारी हुने ठानिएको छ । पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिर घरबासका आकर्षण हुन् । बागलुङ सदरमुकामदेखि १५ किमी मोटर यात्रामा रेश पुग्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button