म्याग्दीको आकर्षक उडाइनो झरना ओझेलमा

पोखरा न्यूज –०५, पुष ।

प्रचारप्रसार र आवश्यक पूर्वाधार व्यवस्थापनको अभावमा म्याग्दीको बेनी नगरपालिका–२ स्थित बगरफाँटमा रहेको रहेको आकर्षक उडाइनो झरना ओझेलमा परेको छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करीब २५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनीबजारदेखि करीब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–बरङ्जा सडकअन्तर्गत बगरफाँट गाउँबाट डेढ किलोमिटर दक्षिणमा पर्दछ ।

बेनपा–३ भकिम्लीको तोराखेतबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछ । पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रमजस्त अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयवासीको भनाइ छ ।

म्याग्दीका बुद्धिजीवी एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिफ्ट गरेर भए पनि झरनालाई निरन्तरता दिनुपर्ने बताए । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने बताए ।

रमणीय जङ्गलको बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पशुपक्षीको बासस्थानसमेत छ । प्राकृतिक स्वरूप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाइने बेनपा–२ का वडासदस्य चन्द्रबहादुर कुँवरले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button