‘दयारानी’ नामले दयावान स्त्री जनाउछ : निर्देशक माओत्से गुरुङ ( भिडियो सहित )

प्रदीप कुलुङ, पोखरा न्यूज ।

गुरुङ भाषाको चलचित्र “कृपा”बाट चलचित्र निर्देशनमा आसा गर्न लायक निर्देशकको रुपमा हेरिएको व्यक्तित्व हुन् माओत्से गुरुङ । “कृपा” मा उनको निर्देशनलाई मात्र होईन अभिनयको पनि उत्तिकै तारिफ गरिएको थियो ।

गुरुङ भाषाको चलचित्रहरुको निर्देशन तथा अभिनयमा रमाउदै आएका माओत्से विशेषतः नाट्यकर्मीको रुपमा बढी परिचित छन् । त्यसो त कबड्डी कबड्डी, पुरानो डुंगा, साईली लगायत करिब आधा दर्जन मूलधारका चलचित्रहरुमा शसक्त अभिनय पनि गरिसकेका छन् उनले ।

उनको आफ्नै कथा तथा निर्माण रहेको नेपाली कथानक चलचित्र ‘पुरानो डुंगा’ ले हलमा मध्यम व्यापार गरेपनि युटुबमा भने चलचित्र निकै रुचाइएको छ । सिनेमा आर्ट तथा माओत्से गुरुङ फिल्म्सको निर्माणमा बनेको ‘पुरानो डुंगा’ यो खबर तयार पार्दासम्म युटुबमा ५७ लाख भन्दा बढी पटक हेरिसकिएको छ ।

अभिनय, लेखन, निर्देशन, तथा निर्माताको रुपमा नेपाली चलचित्र क्षेत्रमा योगदान गर्दै आएका उनै माओत्से गुरुङले मूलधारको नेपाली भाषिक चलचित्र निर्देशनमा डेब्यु गरेका छन्, चलचित्र ‘दयारानी’ बाट । दयाहाङ राई र दिया पुनको मुख्य भूमीका रहेको चलचित्र “दयारानी” मा पुरानो डुंगाका निर्देशक रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्माताको रुपमा रहेकाछन् । चलचित्रलाई मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यु एडभेन्चर (जापान)ले निर्माणमा सघाएका छन् ।

एउटा अहंकारी श्रीमानको कारण सोझो ईमान्दार श्रीमतिले समाजमा भोग्नु परेको दुःखको कथामा आधारित “दयारानी” लाई माओत्से गुरुङ फिल्मसको ब्यानरमा सिनेमा आर्टसले प्रस्तुत गरेको हो । चलचित्र निर्देशक नविन सुब्बाबाट चलचित्र सिर्जना हो भन्ने पाठ सिकेका माओत्सेले निर्देशक रामबाबु गुरुङबाट चलचित्र व्यापार पनि हो भन्ने राम्ररी बुझेको बताउछन् । त्यहि शुत्रलाई चलचित्र “दयारानी”मा भरपुर प्रयोग गरिएको हुनाले चलचित्रमा कलात्मक सिर्जना र बजारमा ब्यापार गर्न सक्ने दुईवटै मसला पाईने निर्देशक गुरुङले दावी गरेका छन् ।

उनी भन्छन्– चलचित्र कला र सिर्जनाको संगम नै हो तर, निर्मातालाई पनि डुबाउने काम गर्न हुँदैन जसको कारण अरु चलचित्र बन्ने बाटो छेकियोस । नेपाली चलचित्रलाई लगानी र बजारमा गरेको ब्यपारको आधारमा धार छुटाउने प्रबृत्ति रहेको र यसरी धार छुटाउन आवश्यक नरहेको उनको बुझाई रहेको छ ।

नायकको नाम दया र नायिकाको नाम रानी भएर चलचित्रको नाम “दयारानी” राखिएको नभई “दयारानी”को अर्थ गुरुङ समाजमा दयावान स्त्रीलाई बुझाउने भएको हुनाले राखीएको बताएका छन् । कास्कीको याङजाकोट गाउँको रमणीय दृष्यहरु समावेश गरिएको चलचित्रलाई शैलेन्द्र डि कार्कीले खिचेका हुन् । गत मंसिरमा छायाङ्कन सकिएको चलचित्रमा दया र दियाको साथमा विजय बराल, प्रमिस गुरुङ, श्रीषा कुँबर, पुस्कर गुरुङ, नयन गुरुङ लगायतलाई अभिनय गराएका छन् उनले ।

राजनराज शिवाकोटी र बिनोद बानियाँको संगीत तथा विक्रम स्वाँरको कोरियोग्राफी रहेको चलचित्रलाई राजन पुवाँरले सम्पादन गरेका छन् । छायाँकन कार्य सम्पन्न भएको उक्त चलचित्र आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।

चलचित्र “दयारानी” तथा माओत्से गुरुङको कला यात्राको बारेमा माओत्से गुरुङसँग सहकर्मी अनुज कुलुङले तयार पारेको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button