सडक महोत्सबमा होटलका रुम र खानाका परिकारमा अत्याधिक मुल्यबृद्धिको गुनासो

पोखरा न्यूज – १५, पुष ।

पोखराको मुख्य पर्यटकीयस्थल भनेर चिनिने लेकसाइडको करिब तीन किलोमिटर क्षेत्रमा अहिले पोखरा सडक महोत्सब चलिरहेको छ । बिगत २० बर्षदेखी अंग्रेजी नयाँ बर्षको अवसर पारेर गरिदै आएको यो महोत्सब विशुद्ध पोखराको पर्यटन प्रवर्द्धनका लागि हो भनेर भन्ने गरिन्छ।

पर्यटन प्रवर्द्धनका लागि भनेर ब्यापार ब्यबसाय गर्न गरिएको यो महोत्सब सार्वजनिक यातायातका साधन ठप्प पारेर ५ दिनसम्म संचालन गर्दा पनि स्थानीयवासीले राम्रै सहयोग समर्थन गरिरहेका छन् । महोत्सब्का ५ दिन लेकसाइडका होटल तथा रेस्टुरेन्ट ब्यबसायीले आफ्ना स्टल सडक पेटीमै झारेर ब्यापार ब्यबसाय गर्ने गर्दछन। पर्यटन प्रवर्द्धनका लागि भनेर गरिने महोत्सब त्यो पनि सडक पेटीमै गर्ने भएपछी होटल रेस्टुरेन्ट ब्यबसायीले आकर्षक छुटको व्यवस्था हुनुपर्ने हो । मेला महोत्सब भनेपछि प्रायजसो आन्तरिक पर्यटकले छुट सहितको उपयुक्त मूल्य होला भनेर परिवार सहित आउने खाने रमाउने गर्दछन पनि। तर पछिल्लो समयमा आयोजकले “सडकमै खाऔ, सडकमै नाचौ, सडकमै रमाऔ” भनेर पर्यटक बोलाउने र चर्को मुल्य असुलेर पाहुनालाई बर्षेनी लुटेर पठाउने गरेको गुनासो व्यापक रुपमा आउन थालेको छ ।

भूकम्पले पर्यटन थला परेपछि यिनै पर्यटन ब्यबसायीले छूट र प्याकेजको नाममा आन्तरिक पर्यटक गुहार्न पुगेपछी आन्तरिक पाहुनाले राम्रै साथ समर्थन दिए । महोत्सबमा पर्यटकको चाप बढ्न थालेपछि अहिले यिनै ब्यबसायी महोत्सबमा मुल्यवृद्धि हुन्छ भन्दै खुलेआम भन्दै हिडेका छन् । महोत्सबमा जसरिपनि दर्शक आइहाल्छन २/४ जनाले बिरोध गरेर केहि फरक पर्दैन भनेर यिनै पर्यटन ब्यबसायीले भन्न थालेका छन् । यधपी केहि सच्चा पर्यटन ब्यबसायीले यसको बिरोध पनि गरेका छन् । रेवान पोखराका पुर्व अध्यक्ष सूर्यबहादुर भुजेलले सार्वजनीक स्थानमा महोत्सबमा मुल्यवृद्धि हुनु सामान्य भनेपछि त्यसले झन् मुल्यवृद्धिमा टेवा पुगेको ब्यबसायीनै बताउछन्।

सडक महोत्सबमा सडकपेटीका धेरैजसो स्टलहरुमा मुल्यसुची बाहिर राखिएको भएतापनि मुख्य महोत्सबल भित्रका रेस्टुरेन्टका प्राय स्टलमा मूल्य सुची राखिएको छैन । महोत्सबमा मुल्यसुची नराखिएका स्टलहरुले आफूखुसी मूल्य लिने गरेको पाइएको छ । मुल्यसुची नराखिएको बारे प्रश्न गर्दा चिनेको मान्छेलाई छुट दिने भएकोले बाहिर नराखेको एक ब्यबसायीले बताइन । सोही प्रश्नमा अर्का एक ब्यबसायीले मेनु भित्र राखिएको भन्दै तर्किए ।

सडक महोत्सबमा समयानुसार फरक फरक मूल्य लिने गरेको समेत आरोप लाग्ने गरेको छ। पोखराका जित थापाले मुख्य कार्यक्रम स्थलमा अबस्थित स्टलहरुमा ५/६ बजे एउटा रेट १०/११ बजे अर्को रेट हुदै आएको बताए । पोखराकै अशोक श्रेष्ठले एक रेस्टुरेन्टले एक बोतल पानीको १०% सर्भिस चार्ज र १३ % भ्याट बाहेकनै ८५ रुपैया लिएको बताएका छन् । उनले उक्त रेस्टुरेन्टको मेनुको फोटो देखाउदै चर्को मुल्य असुलिरहेको उल्लेख गरेका छन् ।

यता पोखराका होटलहरुले महोत्सबको अवसर पारेर ४ सय देखी ५ सय प्रतिशतसम्म मूल्यवृद्धि गरेको पाहुनाहरुले नै आरोप लगाएका छन् । भरतपुरका राजेन्द्र गुरुङले आफु अन्य समयमा आउदा जहिले २ हजार २ हजार ५ सयमा रुम दिने होटलले अहिले दुइ गुणा भन्दा बढी भनेको भन्दै आक्रोश ब्यक्त गरे । पोखराका सन्तोष तिवारीले पहिले ८ सय मा दिने रुम अहिले ४ हजार भनेको भन्दै असन्तोष ब्यक्त गरे । पोखराका ठुला नाम चलेका होटल र अनलाइनबाट बुक हुने होटल बाहेक अधिकांस होटलले नयाँ बर्षको ३ दिनमा सबैलाई चुनौती दिदै कालोबजारी गरिरहेका छन् । पोखराकै एक नाम चलेको होटलले २ हजार ५ सयमा बेच्दै आएका रुमको महोत्सवका ३ दिनका लागि भनेर ५ हजार ५ सय कायम गरिएको जनाएको छ । होटलका रिसेप्सनमा बसेका स्टाफले म्यानेजरको निर्णय भन्दै पहिलेको दररेटमा रुम उपलब्ध गराउन नसक्ने जनाए । उनले जनवरी १ तरिकवाट फेरी पुरानै मुल्यमा रुम बेच्ने जनाए । पोखराका कुनैपनि होटलले २९, ३० तारिकमा ३१ तारिकका लागि रुम खाली छ भन्दैनन् । उनीहरुले ३१ तारिखमा भित्र भित्रै सेटिङ्ग मिलायर ४/५ गुणा महंगोमा रुम बेच्छन । सामान्य हजार / १२ सयको रुमलाई पनि ३१ तारिखमा कम्तिमा ५/६ हजारमा बेच्ने गरेको पाइन्छ ।

महोत्सबमा सांगितिक कार्यक्रम स्थल कोमागानेपार्क बाहेकको क्षेत्रमा प्रबेश शुल्क लाग्दैन । त्यसैले महोत्सबमा कति अबलोकनकर्ता भित्रिए भनेर ठ्याक्कै भन्न नसकिए पनि महोत्सबको पाँच दिनसम्म लेकसाइडका सडक साथै पार्कमा लाखौ दर्शक आउछन । अंग्रेजी नयाँ बर्षको स्वागतार्थ आयोजित अघिल्लो दिनको कार्यक्रममा महोत्सब स्थलमा आगन्तुक पर्यटक संगै पोखरानै ओईरिन्छ । यसरी लाखौ दर्शक सहभागी हुने महोत्सबमा हुने आयव्ययको लेखा जोखा के हुन्छ भनेर आयोजक रेवानले कहिल्यै सार्वजनिक गर्दैन् ।

आयोजक सस्थाका महासचिव गणेश बहादुर थापाले पत्रकारको प्रश्नमा आफुहरुले सबै बिल प्रमाण देखाउन नसक्ने भनि सार्वजनिक रुपमै जवाफ दिएका छन् । महोत्सबमा चर्को मुल्य लिएका केहि व्यवसायीको बारेमा तथा मुल्यसुची नराखिएको बिषयमा हामीले प्रश्न गर्दा महासचिव थापाले क – कसले लिएका छन् आफुलाई भाइबरमा म्यासेज गरिदिनुस पछी हेरौला भन्दै तर्किए । अदालतले महोत्सबमा आतिसबाजी नगर्नु भनि परमादेश जारी गरेपछि उक्त दिनलाई कालो दिन बताएका थापा भने महोत्सबमा भएको कालोबजारीबारे प्रश्न गर्दा तर्किन खोजे । यसबाट पनि महोत्सबको बेला हुने मुल्यवृद्धिमा आयोजक रेवानको पुरै साथ समर्थन रहेको प्रस्टै हुन्छ ।

उता महोत्सबलाई स्वीकृत प्रदान गरि प्रतक्ष्य अप्रत्यक्ष सहयोग गरिरहेका महानगरपालिका लगायतका स्थानीय निकाय र जनप्रतिनिधि खुलेआम कालोबजारी हुदाँ समेत मौन छन् भने जिल्ला प्रशासन कार्यालय कास्की प्रमाण सहित आएमा मात्र कारवाही गर्ने बताउछ । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले मुल्यको बिषयमा आन्तरिक राजश्व कार्यालयले हेर्ने र अन्य बिषयमा महानगर लगायतका निकायले हेर्ने भन्दै कसैले सप्रमाण उजुरी गरे आफुहरुले कारबाही गर्ने बताए । तर आम सर्वसाधारण ठगिएपनि प्रमाण जुटाएर कारवाहीको लागि निवेदन दिने सम्मको झन्झटिलो प्रक्रियामा अल्झिन चाहदैनन् । जसले गर्दा ब्यबसायीलाई खुलेआम कालोबजारी गर्ने बाताबरण बनेको छ ।

पर्यटन प्रवर्द्धन गर्न भनि गरिएको महोत्सबमा होटलको बसाई र रेष्टुरेण्टको खाना सस्तो हुनुपर्नेमा सामान्य अबस्थाको भन्दा धेरै गुणा बढी मुल्य असुली मौकामा चौका हान्न खोज्ने ब्यबसायीका कारण सडक महोत्सबको साख बिग्रिदै गएको पोखरेलीहरु बताउछन् ।

सर्वसाधारणले सडक महोत्सब लुट महोत्सब भएको तथा यो महोत्सब पोखराको ननिचरेको पिलो भएको सम्मको अभिव्यक्ति दिन थालेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button