कास्कीको हंसपुरमा खानेपानीको समस्या समाधान हुँदै

पोखरा न्यूज- २१, पुष ।

वर्षौंदेखि खानेपानीको चरम अभाव भोग्दै आएका रुपा गाउँपालिका–७ हंसपुरका स्थानीयवासी उक्त समस्याबाट मुक्त बन्ने भएका छन् ।

युनिका फाउण्डेशन नेदरल्याण्ड, रुपा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा सो वडामा ‘रामकोट सोलार लिप्टिङ खानेपानी परियोजना’ निर्माणका लागि त्रिपक्षीय सम्झौता भएको छ ।

गाउँपालिकाको कुडुलेखोलाबाट ७५० मिटरको उचाइमा अवस्थित स्याक्लुङ र डिस्टागाउँमा छुट्टाछुट्टै दुईवटा निर्माण गरिने पानीट्याङ्कीसहितको सो परियोजनाको कूल लागत रु पाँच करोड ८९ लाख एक हजार २५६ रहेको छ । योजनाका लागि फाउण्डेशनको रु तीन करोड ४३ लाख ६६ हजार ३५३, रुपा गाउँपालिकाको रु एक करोड ८८ लाख ४५ हजार १२० र नेपाल रेडक्रस सोसाइटीको रु तीन लाख लगानी हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा फाउण्डेशनका प्रतिनिधि सुष्मा थापा, रेडक्रस जिल्ला अध्यक्ष डोलराज पाण्डे र गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उच्च पहाडी भागमा रहेको सो वडामा वर्षौंदेखि स्थानीयवासीलाई एक गाग्री खानेपानीको लागि घण्टौँसम्म समय खर्चिनुपर्ने बाध्यताको अन्त्यका लागि सञ्चालन गरिने योजना साढे दुई वर्षमा सम्पन्न गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानलाई मूर्तरुप दिने उद्देश्यका साथ गरिएको सम्झौताले प्रत्येक घरमा धारा जडान गरिने लक्ष्य राखिएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । “योजना सम्पन्न भएपछि ३३३ परिवारका लगभग दुई हजारसहित वडा कार्यालय, तीन वटा सामुदायिक विद्यालय, हेल्थपोष्ट र कृषि विकास कार्यालयमा आउने विद्यार्थी एवं सेवाग्राहीले खानेपानीको सुविधा पाउने छन्”, उनले भने ।

उनका अनुसार गाउँपालिकाको अन्य वडामा १९ वटा खानेपानी योजना निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । एक वर्षको अवधिमा घर घरमा खानेपानी पु¥याउने गाउँपालिकाका अध्यक्ष ओझाले जानकारी दिए ।

परियोजनाका प्राविधिक कालीदास सापकोटाका अनुसार योजनाको दिगोपनाका लागि स्थानीय आठ जनालाई आवश्यक तालीम प्रदान गरी मर्मतसम्भार गर्नसक्ने दक्ष जनशक्ति तयार गरिने लक्ष्य छ ।

उपल्लो भागमा रहेको मूललाई पाइप विस्तार गरी गाउँसम्म ल्याएर खानेपानीको सुविधा पु¥याउँदै आएकोमा पछिल्लो समय तल्लो भागबाट माथि पानी लैजान जटिल प्रकृति भए पनि सोलार लिफ्टिङ प्रविधि उपयोगी बनेको नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डोलराज पाण्डेले बताए।

पानीका स्रोतभन्दा ग्रामीण बस्ती उच्च स्थानमा भएका कारण अधिकांश स्थानमा पानीको चरम अभाव भइरहेका वेला कास्की र आसपासका जिल्लामा लिफ्टिङ प्रविधि वरदान सावित भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button