बागलुङका खड्काले बीउ बेचेर मनग्य आम्दानी गर्दै

पोखरा न्यूज- २१, पुष ।

तरकारीको बीउ बेचेर यहाँका एक किसानले मनग्य आम्दानी गर्दै आएका छन् ।

बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले वर्षेनी लाखौँ रुपैयाँको काउली र काँक्राको बीउ उत्पादन गर्छन । “गत वर्ष १५० किलो काउलीको बीउ उत्पादन गरेर रु दश लाखमा बेचेँ”, उनले भने, “अझै ३० किलो जति बाँकी छ ।” काउलीको बीउ प्रतिकिलो रु आठदेखि दश हजारसम्ममा बिक्री हुन्छ ।

खड्काले स्थानीय जातको ‘ज्यापू’ काउलीको बीउ उत्पादन र बिक्री गर्दै आएका छन् । काउलीपछि उनकोमा धेरै उत्पादन हुने काँक्राको बीउ हो । यही वर्ष ४० किलो काँक्राको बीउ बेचेको उनले बताए ।

प्रतिकिलो रु पाँच हजारसम्ममा काँक्राको बीउ बिक्री हुन्छ । “काँक्रामा भक्तपुर लोकलको बीउ उत्पादन गर्छु” खड्काले भने, “यसको उत्पादन राम्रो छ, माग पनि बढी छ ।” खड्काले उत्पादन गरेको काउलीको बीउ काठमाडौँ, चितवनलगायत तराईका जिल्लामा पुग्छ ।

काँक्राको बीउका लागि पनि बाहिरका ठूला व्यापारीबाट माग आउँछ । बागलुङकै अन्य ठाउँ र छिमेकी जिल्लाका किसानले समेत उहाँसँग बीउ किन्ने गर्छन् । “ठूला व्यापारीसँग कारोवार हुन्छ” खड्काले भने, “उनीहरुले प्याकेजिङ गरेर बजार पठाउँछन् ।”

उनले बेच्ने ज्यापू काउली र भक्तपुर काँक्राले ७० देखि १०० दिनमा उत्पादन दिन्छ । बीउको बजारीकरणमा सरकारले सघाउनुपर्ने खड्काको माग छ । “बजारको सुनिश्चितता हुनसके बीउमा राम्रो आम्दानी छ”, उनले भने ।

छिटो र धेरै फल्ने नाममा गुणस्तरहीन बीउलाई निरुत्साहित गर्दै स्थानीय जातको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिदैं खड्काले केही वर्ष अघिसम्म प्याज, मूला, गाँजर, गोलभेँडालगायत अन्य तरकारी बालीको बीउसमेत उत्पादन गर्दै आएको बताए ।

पछिल्लो समय काउली र काँक्राको बीउ उत्पादनमा मात्र उहाँ केन्द्रित हुनुभएको छ । “बीउ उत्पादन विसं २०४६ देखि शुरु गरेको हुँ” खड्काले भने, “पछि उत्पादन बढाउँदै लगेँ ।” कास्कीको लुम्लेमा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रबाट उनले शुरुमा बीउ उत्पादनको सीप सिकेका हुन् ।

बीउ उत्पादनका लागि तत्कालीन कृषि विकास कार्यालय बागलुङबाट पनि उनले विभिन्न तालिम, प्रविधि र अनुदान पाएका थिए । ६० वर्षीय खड्काले बीउसँगै ताजा तरकारी पनि उत्पादन गर्दै आएका छन् । जिल्लामै सफल र अगुवा किसानको रुपमा परिचित उनी पाँच रोपनी क्षेत्रफलमा सुन्तलाखेती पनि गर्दै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button