तनहुँका महिला सामूहिक आलु खेतीतर्फ आकर्षित

पोखरा न्यूज-२२, पौष ।

तनहुँको भीमाद नगरपालिका–९ जौपानीका महिलाले सामूहिक आलुखेती शुरु गरेका छन् ।

गत वर्षसम्म व्यक्तिगत रुपमा आलुखेती गर्दै आएका यहाँका महिलाले पुसको दोस्रो सातादेखि सामूहिक आलुखेती शुरु गरेका हुन् । जौपानी आमा समूहमा आवद्ध २० महिलाले आठ रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती शुरु गरेको स्थानीयवासी लक्ष्मी क्षेत्रीले जानकारी दिइन् ।

आमा समूहमा आवद्ध महिलाको जग्गामा नै सामूहिक आलुखेती शुरु गरिएको उनले जानकारी दिइन्। उनका अनुसार सो ठाउँमा ५५० केजी आलुको बीउ रोपिएको छ ।

नगरपालिकाले सामूहिक आलुखेतीको लागि प्राविधिक सहयोग समेत गरेको छ । सामूहिक आलुखेती गर्दा काममा समेत सहजता हुने क्षेत्रीले बताइन् । “कसैले मल बोक्ने, कसैले डल्ला फोर्ने गर्दा रमाइलोका साथै काम गर्न समेत सहज हुने रहेछ”, उनले भनीन् । वडाध्यक्ष इमान थापाले सामूहिक आलु खेतीका लागि नगरपालिकाले बीउ खरिदमा रु एक लाख सहयोग गरेको जानकारी दिए ।

यसैगरी तनहुँको म्याग्दे गाउँपालिकाका महिलासमेत सामूहिक आलु खेतीतर्फ आकर्षित भएका छन् । सो गाउँपालिकास्थित जामुने, धयरे, थर्पु, मनहरि, शेराफाँट र छाङपाटनमा महिलाले सामूहिक आलुखेती गरेका छन् । म्याग्दे–३ धयरेका शोभा अधिकारीले सामूहिक आलुखेती गर्दा सजिलो हुने गरेको बताइन् ।

गाउँपालिकाभित्रका ४५० जना महिलाले २६० रोपनी क्षेत्रफलमा सामूहिक रुपमा आलुखेती गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । गाउँपालिकाले सामूहिक आलु खेतीका लागि प्राविधिक सहयोग र बीउमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको उनले बताइन् । उनका अनुसार तीन वर्षभित्र गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने लक्ष्य रहेकाले आलु खेतीमा लाग्ने कृषकलाई थप प्रोत्साहन गरिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button