पोखरा न्यूज- २३, पुष ।
कास्कीको उत्तरी भेगमा रहेको पर्यटकिय गाउँ (माछापुच्छ्रे गाउँपालिका ८-९)घलेलमा सम्पन्न गाउँ स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि मिलन युवा क्लब धम्पुुसले जितेको छ ।
“आत्मा साक्षी राखी मन,बचन र कर्मले सेवा गरौ” भन्ने नारा सहित बौद्ध सिर्जना युवा क्लबको खेल मैदानमा बेस्ट अफ फाईभको आधारमा आईतबार सम्पन्न भएको फाईनल खेलमा आयोजक टिम “क”लाई २५–२२, २६–२४ र २५–१९ को सोझो सेटले पराजित गर्दै मिलन युवा क्लब धम्पुसले उपाधि जितेको हो ।
उपाधी सँगै मिलन युवा क्लब धम्पुुसले शिल्ड, मेडल, तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्राप्त गर्यो भने उपबिजेता आयोजक टिम “क” (बौद्ध सिर्जना युवा क्लब) ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३५ हजारमा चित्त बुझायो । त्यस्तै क्युप्चे बराह युवा क्लब लान्दु्रकले सान्त्वना स्थान हासिल गर्दै शिल्ड, मेडल, तथा प्रमाणपत्र सहित नगद रु २० हजार प्राप्त गर्यो । महिला तर्फ कास्की जिल्ला भलिबल सँघले २५–१४, २५–१३, २०–२५, २२–२५ र १५–६ को सेटले लामा अमृत फाउण्डेशन घान्द्रुकलाई हराउदै बिजयी भयो ।
बिजयी टिम कास्की जिल्ला भलिबल सँघले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० हजार हात पर्यो भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १० हजार प्राप्त गर्यो । त्यसैगरी प्रौढ (भेट्रान्स) तर्फ निश्चल झरना क्लब लुम्रे बिजयी बन्यो । न्यू जेनेरेशन क्लब क्वीबाङलाई २५–१७ र २५–१८ को सोझो सेट सहित पराजित गर्दे उपाधि जितेको लुम्रेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार प्राप्त गर्यो । जेता क्वीबाङले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ८ हजारमा चित्त बुझायो ।
प्रतियोगितामा पुरुष तर्फ मिलन युवा क्लब धम्पुुसका सञ्जु बिक्रम शाह, महिला तर्फ कास्की जिल्ला भलिबल सँघका लक्ष्मी कुमाल र भेट्रान्स तर्फ लुम्रेका बिकास गुरुङ उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । गत १५ देखी २२ गते आईतबार सम्म सञ्चालन भएको २० औं ल्होछार घलेल उत्सबको समापन तथा पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथी सामाजिक अभियन्ता तथा युवा नेता सरस्वती गुरुङ, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य आस बहादुर गुरुङ लगायतले बिजेता तथा उपबिजेता टिमहरुलाई पुरस्कार बितरण गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि गुरुङले पर्यटकिय गाउँबस्तीमा हुने खेलकुदका गतिबिधीले खेल पर्यटनको बिकासमा टेवा पुर्याउने । पर्यटकीय गतिबिधी बिशेषगरी कास्कीको उत्तरी भेगमा बढि हुने भएकाले यस्ता प्रकारको उत्सबलाई स्थानिय सरकारले समेत समन्यव गर्नुपर्ने धारण ब्यक्त गरिन् । उनले बैदेशिक रोजगारमा रहेका युवाहरुको सहयोगले मात्रै परम्परागत संस्कार संस्कृतिको संरक्षण गर्न नपुग्ने बताउदै स्थानिय सरकारलाई बिशेष चाँसो दिन आग्रह समेत गरिन् ।
त्यस्तै नेपाली काङ्ग्रेसका जिल्ला सदस्य आस बहादुर गुरुङले गाउँ स्तरिय भलिबल प्रतियोगिता आयोजना गरेर राष्ट्रिय खेल भलिबलको परिभाषा पुरा गर्न अझ मद्दत पुर्याउने औल्याए । गुरुङले गाउँ स्तरमा आयोजना हुने बिभिन्न तहका भलिबल प्रतियोगिताबाट लुकेका प्रतिभा बाहिर ल्याउन समेत भुमिका खेलेकोले सो कार्यक्रमको प्रशंसा गरे । उनले २० औं संस्करणमा आईपुग्दा कार्यक्रम परिस्कृत भैसकेको उल्लेख गर्दै गाउँ क्षेत्र बिकास युवाको काँधमा रहेको धारण ब्यक्त गरेका थिए ।
क्लबका अध्यक्ष राम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा खेल संयोजक रोशन गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सञ्चारकर्मी अस्मिता गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।