पोखरा न्यूज- २४, पुष ।
तनहुँ अदालतबाट कैद तथा जरिवाना तोकिएका तीन जनालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।
बहुविवाह मुद्दामा ब्यास नगरपालिका–७ का सन्तोष सुनार दश वर्षपछि पक्राउ परेका छन् । सो
अभियोगमा जिल्ला अदालतले सात महीना १३ दिन कैद र रु पाँच हजार जरिवाना तोकिएका ३९ वर्षीय सुनारलाई प्रहरीले आज घरबाटै पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान र अदालतबाट भएको फैसला कार्यान्वयनको सिलसिलामा सुनारलाई पक्राउ गरिएको जानकारी दिए ।
त्यसैगरी लागुऔषध मुद्दामा पाँच वर्षदेखि फरार रहेका शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका सर्वजीत राई र बहुविवाह मुद्दामा चार वर्षदेखि फरार रहेका ब्यास नगरपालिका–६ स्याम्घाका ४५ वर्षीय सूर्यराज मल्ललाई समेत प्रहरीले पक्राउ गरेको छ ।
अदालतले राईलाई दुई वर्ष कैद, रु एक लाख जरिवाना र मल्ललाई ११ महीना १४ दिन कैद र रु दश हजार जरिवानाको फैसला गरेको थियो । पक्राउ परेका तीन जनालाई तनहुँ अदालतमा पेश गरिएकामा तोकिएको जरिवाना भुक्तानी गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।