पोखरामा सभामुख राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी पुरा

डिएनबी,  पोखरा न्यूज- २९, पुष ।

मंगलबार देखि पोखरामा सुरु हुने दोश्रो संस्करणको सभामुख कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा, राष्ट्रिय खेलकुद परिषदको तत्वावधान माघ ५ गतेसम्म पोखरामा संचालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

पोखरा रंगशालाको भलिवल प्रशिक्षण केन्द्रमा लिगकम नकाउटका आधारमा हुने प्रतियोगितामा तीन विभागिय सहित १० टिमको सहभागिता हुने भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । प्रतियोगितामा विजेता टिमले ३ लाख ५० हजार, उपविजेताले १ लाख ७० हजार, तेश्रो हुनेले १ लाख र शान्त्वना हुनेले ५० हजार साथमा ड्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएको छ ।

प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, प्रदेश नम्बर ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश नम्बर ३, प्रदेश नम्बर १, प्रदेश नम्बर २ को सहभागिता  भएको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई १० हजार, त्यसै गरी प्रतियोगितामा उत्कृष्ट स्पाईकर, उत्कृष्ट व्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार प्रदान गरिने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ३८ लाख खर्च लाग्ने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिताको लागि राखेपले २५ लाख रुपैया सहयोग गरेको समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए । प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष श्रेष्ठको संयोजकत्वमा १४ वटा उपसमिति गठन गरिएको उनले जनाए ।  पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । माघ १ गते उद्घाटन खेलमा गण्डकी प्रदेश बिरुद्ध नेपाल पुलिस क्लव बिच खेल हुने भएको छ । मंगलबार एपिएफ बिरुद्ध प्रुदेश नम्बर १, प्रदेश ५ बिरुद्ध प्रदेश २, त्रिभुवन आर्मी बिरुद्ध प्रदेश ३ बिच लिग चरणका खेलहरु हुने भएका छन् ।

खेलाडीहरु पलायन भएकोले गर्दा गण्डकी प्रदेशको महिला भलिवल खस्केको नेपाल भलिवल संघका केन्द्रिय उपाध्यक्ष यम बहादुर गुरुङले बताए । गण्डकी प्रदेशको टिम नेपाली राष्ट्रिय टिमकै उपकप्तान मन्जु गुरुङको नेतृत्वमा टोलीले तयारी गरेको छ । केहि दिन देखि पोखरा रंगशालामा गण्डकी प्रदेशको टोलीले प्रशिक्षण सुरु गरेको बताइन्छ । गण्डकी प्रदेशको टिम प्रशिक्षकमा कौशिला खत्री रहेकी छन् भने सहायक प्रशिक्षकमा रमेश के.सी. रहेकाछन। अन्य खेलाडीहरुमा अरुणा शाही, पबित्रा श्रीपाली, रेविना घर्तीमगर, ममता डगौरा, रुपमा थापा, जयन्ती गुरुङ, लुकु श्रीस, लक्ष्मी कुमाल, अन्सु थापा, पुर्णिमा ठाकुर र कोपिला थापा रहेका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button