पर्वतमा आयुर्वेद स्वास्थ्य शिविरबाट छ सय लाभान्वित

पोखरा न्यूज- ३०, पुष ।

यहाँको एक गाउँमा पहिलोपटक सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित पातीचौरमा सञ्चालित एक दिने शिविरमा ६१२ को स्वास्थ्य परीक्षण गरिएको हो । रि–लाइफ आयुर्वेद हस्पिटल प्रालि पोखराको सहयोग र पार्वती युवा क्लब पातीचौरको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा पायल्स, फिस्टुला, फिसर, नसा तथा बाथ रोग, प्यारालाइसिस, जण्डिस, स्त्रीरोगका बिरामीको परीक्षण गरिएको आयोजक पार्वती युवा क्लबका अध्यक्ष समिर मल्लले जानकारी दिए । उनका अनुसार शिविरमा ग्याष्ट्रिक र स्त्रीरोगसम्बन्धी बिरामीको बढी भीड लागेको थियो । उपचार गर्न आउनेलाई निःशुल्क औषधिसमेत वितरण गरिएको छ । एलोपेथिक पद्धतिबाट उपचार गराउने परम्परा बढ्दै गएका बेला आयुर्वेदतर्फ पनि नागरिकको उत्तिकै विश्वास रहेको मल्लले जानकारी दिए ।

वरिष्ठ आयुर्वेदिक डाक्टरको उपस्थिति रहेको शिविरमा उपचार गराउनका लागि मोदी गाउँपालिकाका विभिन्न वडाका साथै कुश्मा नगरपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट समेत बिरामी सहभागी भएका थिए । शिविरमा वरिष्ठ आयुर्वेद विशेषज्ञ डा ओमप्रकाश कलोनी, डाक्टर सुजना शर्मा, डा दीपक भुसाल, ल्याब टेक्नोलोजिष्ट डा नरेशप्रसाद पाण्डे, फिजियोथेरापिष्ट डा दिनेश गुरुङलगायतका चिकित्सवकबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button