बागलुङमा विद्यालय पुनःनिर्माणले गति लिँदै

पोखरा न्यूज- ३०, पुष ।

भूकम्पले क्षति पुर्याएका यहाँका विद्यालय भवनको पुनःनिर्माणले गति लिएको छ । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार यो वर्ष ४० विद्यालयको पुनःनिर्माण शुरु भएको छ । गत आवमा २६ विद्यालयको पुनःनिर्माण सकिएको छ ।

चालु आवमा चारकोठे १७, तीनकोठे पाँच र दुईकोठे भवन १८ वटा निर्माण हुने क्रममा छन् । ‘‘सम्झौता भएर काम अघि बढेको छ’’, एकाइका निमित्त प्रमुख इञ्जिनीयर रामाशिष साहले भने, “आउँदो असारभित्र सक्ने लक्ष्य छ ।” अघिल्लो वर्षका थप दुई विद्यालय भवन समेत क्रमागत योजनाअन्तर्गत निर्माणाधीन छन् ।

प्राधिकरणले चारकोठे भवनका लागि बढीमा रु ७० लाख ४० हजारसम्म अनुदान उपलब्ध गराएको छ । त्यस्तै तीनकोठेका लागि बढीमा रु ३५ लाख ८० हजार र दुईकोठेका लागि रु २३ लाख ९० हजारसम्म अनुदानको व्यवस्था छ ।

चारकाठे भवन पक्की (आरसिसी) हुने र तीन र दुईकोठे भवन ‘ट्रष्ट’ को हुने जनाइएको छ । जिल्लामा भूकम्पले भत्काएकामध्ये अझै ७२ वटा विद्यालय पुनःनिर्माणको पखाइमा छन् । ‘‘माग भइआएका सबैको सिफारिस प्राधिकरणमा पुगेको छ’’ इञ्जिनीयर साहले भने, “यो वर्ष ४० को स्वीकृत भयो, बाँकी अर्को वर्ष हुन्छ ।”

भूकम्प गएको दुई वर्षपछि जिल्लामा आयोजना एकाइ स्थापना भएका कारण पुनःनिर्माणमा ढिलाइ भएको हो । विद्यालय पुनःनिर्माण गर्दा भौगोलिक अध्ययन, ‘डिजाइन’, लागत अनुमान स्वीकृत गर्नुपर्ने प्रावधान छ । क्षतिको अवस्था, विद्यार्थी अनुपातजस्ता आधारमा अनुदानको प्राथमिकता निर्धारण हुने गरेको छ ।

पुनःनिर्माण जिल्ला समन्वय समितिले क्षति पुगेका सबै विद्यालयलाई लाभग्राहीको सूचीमा राख्न प्राधिकरणसँग माग गरेको छ । समितिका अध्यक्ष एवं सङ्घीय सांसद देवेन्द्र पौडेलले अनुदानबाट कोही पनि वञ्चित हुन नहुने बताए ।

‘‘कम क्षति भएको जिल्ला भएका कारण बागलुङमा प्राधिकरण ढिलो आयो’’ उनले भने, “अब पुनःनिर्माणलाई गति दिनुपर्छ ।” पुननिर्माण नहुँदा कतिपय विद्यालयले चर्केकै भवनमा जोखिम मोलेर पठनपाठन गराइरहेका छन् । विद्यालय भवनको पुनःनिर्माणलाई प्राधिकरणले प्राथमिकता दिएको प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले बताए  ।

‘‘निजी आवाससँगै विद्यालय पुनःनिर्माण पनि धमाधम भइरहेको छ’’ उनले भने, “प्राधिकरणले तोकेको मापदण्ड विपरीत बनेका संरचनालाई भने अनुदान नदिइने उहाँले स्पष्ट पारे ।”

जिल्लामा निजी आवासतर्फ कूल दुई हजार ३७५ लाभग्राहीको सूचीमा छन् । दुई हजार १५६ को हालसम्म सम्झौता भइसकेको छ । तीन लाख अनुदानमा पहिलो किस्ता भुक्तानी दुई हजार ७०, दोस्रो किस्ता ७१७ र तेस्रो किस्ता ४०७ जनाले मात्र पाएका छन् । पूर्वाधारतर्फ बुङ्गादोभान–खुङ्गा–बोङ्गादोभान–खुङ्खानी सडक स्तरोन्नतिको काम भइरहेको छ ।

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close