तनहुँमा सामाजिक उत्तरदायित्व वहन गर्दै बैंक

पोखरा न्यूज- ३०, पुष ।

तनहुँ जिल्लामा सञ्चालनमा रहेका बैंकका शाखाहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक क्षेत्रमा सहयोग गर्न थालेका छन् ।

तनहुँको दमौलीमा रहेको महालक्ष्मी विकास बैंक, कैलाश विकास बैंक र डुम्रेस्थित मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा खानेपानी र सरसफाइका सामग्री, विद्यार्थीलाई झोला र वडामा सडकबत्ती जडान गरेका हुन् ।

महालक्ष्मी विकास बैंकले आज ब्यास नगरपालिका–१० स्थित चण्डिदेवी माध्यमिक विद्यालयमा खानेपानी र सरसफाइका सामग्री उपलब्ध गराएको छ । बैंकले विद्यालयलाई एक हजार लिटर क्षमताको खानेपानी ट्याङ्की, दशवटा जग र पाँच थान डस्टबिन उपलब्ध गराएकोे शाखा प्रबन्धक सुदिप न्यौपानेले जानकारी दिए ।

उक्त सामग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले सञ्चालनमा आएको चार महीनामै उक्त शाखाले सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक कार्यको थालनी गरेकोमा खुशी व्यक्त गरे । ब्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले बैंङ्ले सामाजिक क्षेत्रमा सहकार्य गर्दा बैंकप्रति समुदायको विश्वास बढ्ने बताए ।

यसैगरी बन्दीपुर गाउँपालिका–१ स्थित मुक्तिनाथ विकास बैंकले सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ । उक्त बैँकको तेह्रौँ वार्षिकोत्सवका अवसरमा सोही वडाको विष्णु माध्यमिक विद्यालयका तीस छात्रछात्रालाई झोला वितरण गरिएको शाखा प्रबन्धक ईश्वर सापकोटाले जानकारी दिए  ।

यस्तै दमौलीस्थित कैलाश विकास बैङ्कले ब्यास नगरपालिका–३ पराशर टोलको चौतारामा बत्ती जडान गरेको छ । उक्त बैंकले चौताराका पिल्लरमा ३२ वटा बत्ती जडान गर्नाका साथै सोaही चौतारामा फोहरमैला व्यवस्थापनका लागि पाँचवटा डस्टबिन समेत प्रदान गरेको शाखा प्रबन्धक मोहन थापाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button