म्याग्दीमा ट्र्याक खुलेको एक दशकपछि सडक स्तरोन्नति

पोखरा न्यूज- ०२, माघ ।

ट्र्याक खुलेको एक दशकपछि बेनी नगरपालिका–३ दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको स्तरोन्नति थालिएको छ ।

भकिम्लीका बासिन्दाले चन्दा सङ्कलन गरेर ट्र्याक खोलेको कच्ची र साँघुरो अवस्थाको दूधेखोला–हल्लेगौडा–डाँडाखानी–डोले हुँदै मुसुङ्ग जोड्ने १३ किलोमिटर सडकलाई बेनी नगरपालिकाले स्तरोन्नति गर्न लागेको हो । बेनी नगरपालिकाले विनियोजन गरेको रु ३३ लाख ७७ हजार अनुदान तथा स्थानीयवासीको रु पाँच लाख ९६ हजार बराबरको जनश्रमदानमा सडकको स्तरोन्नति गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष सोचेन्द्र रोकाले बताए ।

पहिलो चरणमा डोजर प्रयोग गरी सडक फराकिलो बनाइएको छ । “अब ग्यावियन पर्खाल, नाली, सोलिङ र ढलान गर्ने काम गछौँ,” वडा सदस्य गेमप्रसाद घर्तीले भने ,“आगामी चैत मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य छ ।” तीन मिटर चौडाइ सडकलाई चार मिटरभन्दा बढी फराकिलो बनाउन थालिएको छ । पहिरो र भुक्षयको जोखिम रहेको १३६ स्थानमा पर्खाल निर्माण गरिने छ । सडकको स्तरोन्नति गरिए भकिम्लीका बासिन्दालाई आवतजावत गर्न, सामान ढुवानी गर्न, कृषि उपज निकासीमा सहज हुनुका साथै स्वर्गाश्रम र बेलढुङ्गामा पर्यटक भित्रयाउन सहयोग पुग्ने वडाध्यक्ष पदम पुनले बताए ।

गत वर्ष बेनी नगरपालिकाको रु २४ लाख १२ हजार अनुदान तथा स्थानीयवासीको रु चार लाख २८ हजार बराबरको श्रमदानमा हल्लेगौडा भीरमा सडक ढलान, ५४ ठाउँमा पर्खाल निर्माणका साथै सडक विस्तार गरिएको थियो । सडक स्तरोन्नति गरिए बाह्रैमास सवारीसाधन गुडाउन सकिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button