पोखरा न्यूज -०३, माघ ।
पाल्पाली कला संस्कृति सहित त्यहाँको विभिन्न खानाको परिकार पोखरामा प्रदर्शनी हुने भएको छ । पाल्पाली समाज पोखराले यही माघ ५ गते पोखराको सभागृहमा आयोजना गर्न लागिएको पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रमको अवसरमा पाल्पाको कला, संस्कृतिको साथमा त्यहाँको विभिन्न खानाको परिवार पोखरामा प्रदर्शन गरिने भएको हो ।
साथै उक्त कार्यक्रममा पाल्पामा रहेका पर्यटकीय स्थल, ऐतिहासिक, धार्मिक, सांस्कृतिक बिषय बस्तुलाई समेटेर तयार पारिएको श्रव्यदृष्य सामाग्रिहरुको समेत प्रदर्शनी हुने बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए । समाज स्थापनाको २५ बर्ष पुगेको अवसरमा समाजले रजत जयन्तीको अवसरमा आयोजना गर्न लागेको उक्त कार्यक्रममा नेपाल सरकार मन्त्री परिषदका पूर्व अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मी, नेपाल प्रहरीका पूर्व महानिरिक्षक कुवेरसिंह राना लगायतका पाल्पाली कला संस्कृतिको संरक्षण र प्रवर्धनमा योगदान पुर्याएका अग्रज कलाकारलाई विशेष सम्मान गरिने अध्यक्ष घिमिरेले बताए ।
पाल्पाली कलाकारहरु महानायक राजेश हमाल,नारायण रायमाझी, दुर्गा रायमाझी, वद्री पंगेनी, इन्द्र जिसी,लगायतका कलाकारलाई समेत सम्मान गरिने उनले बताए । पाल्पाको मौलिक संस्कृतिको रुपमा रहेका वालन, कौरा, सोरठी (मारुनी) नृत्य प्रर्दशन गरिने कार्यक्रम छ । समारोहमा पाल्पाली करुवा ढाका तथा पाल्पाको पहिचानको रुपमा रहेका आलुको चुकाउनी, बटुक (बारा), हाँसको छोईला लगायतको खानाका परिकारको स्टल रहने भएको छ ।
पोखरा र पाल्पालाई पर्यटकीय नगरीको रुपमा जोड्न पनि आफुहरुले विगत केहि समय देखि पोखरा पाल्पा सिधा बस सेवा संचालन गर्दैै आएको अध्यक्ष घिमिरेले बताए । उक्त कार्यक्रमबाट करिब १२ लाख आम्दानी गर्ने लक्ष्य राखिएको कार्यक्रम संयोजक अनन्त अधिकारीले बताए । पाल्पाको मौलिक लोक संस्कृतिको प्रचार प्रसार प्रवर्धन गर्न, पोखरा र पाल्पाको पर्यटन प्रवर्धन गर्न पनि शनिबार पोखरामा एक अन्तरकृया कार्यक्रम समेत हुने भएको छ ।