तनहुँ रेडक्रस शाखाद्वारा अपाङ्गता भएकालाई आर्थिक सहयोग प्रदान

पोखरा न्यूज – ०६, माघ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले अपाङ्गता भएका व्यक्तिहरुलाई रु आठ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहयोग पुर्याउन रेडक्रस सोसाइटीले व्यास नगरपालिका–८ रिस्ती र भानु नगरपालिका–१३ सम्जुरका अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

रिस्तीका ३७ र सम्जुरका ४३ लाई जनही रु १०-१० हजारको दरले कूल रु आठ लाख सहयोग प्रदान गरिएको रेडक्रस सोसाइटी जिल्ला सभापति कृष्णहरि वाग्लेले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा सञ्चालित ‘नेपालमा भूकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागि सशक्तिकरण र समावेशीकरण कार्यक्रम’अन्तर्गत उनीहरुको जीविकोपार्जनका लागि सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको वाग्लेले बताए ।

रेडक्रस सोसाइटीले जिल्लाको व्यास नगरपालिकाको रिस्ती, भानु नगरपालिकाको सतिस्वाँरा, रिसिङ गाउँपालिकाको कोटदरबार र रानीपोखरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग प्रदान गरिने बताएको छ ।

जनप्रतिनिधिद्वारा जनश्रमदान

तनहुँको भिमाद नगरपालिका–९ का जनप्रतिनिधिसहितको टोलीले सोही वडाको बुचाखानी माध्यमिक विद्यालय प्राङ्गण सम्याउन शनिबार जनश्रमदान गरेका छन् ।

विद्यालयको नयाँ भवन निर्माणको क्रममा थुपारिएको माटो र ढुङ्गाले विद्यालय प्राङ्गण अव्यवस्थित बनेपछि वडाध्यक्ष इमान थापाको नेतृत्वमा जनप्रतिनिधिसहितको स्थानीय टोलीले जनश्रमदान गरेको हो ।

जनश्रमदानमा वडा सदस्य शेषबहादुर थापा र बाबुराम राना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज खनाल, प्रधानाध्यापक रामशरण भण्डारी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष प्रदीप थापालगायत १५० भन्दा बढी स्थानीयवासीको सहभागिता रहेको वडाध्यक्ष थापाले जानकारी दिए।

जनश्रमदानमा सोही वडाको कटनछाप, धरमपानी, बुचाखानी लगायतका स्थानीयवासी सहभागी थिए । विद्यालय प्राङ्गणभित्र डोजर लैजान नमिलेपछि स्थानीयवासीलाई भेला गराएर जनश्रमदान गरिएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button