तनहुँमा २२ सय निजी आवासको पुनःनिर्माण

पोखरा न्यूज – ०८, माघ ।

भूकम्प गएको तीन वर्षको अवधिमा तनहुँ जिल्लामा दुई हजार २८३ निजी आवास पुनःनिर्माण भएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले जिल्लाका १३ हजार ८२१ घरमा क्षति पुगे पनि दुई हजार २८३ घर मात्रै पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । कार्यालयका नायब सुब्बा रामहरि खनालले ती घर पूर्णरुपमा निर्माण भएकाले गोरखास्थित शहरी विकास भवन डिभिजन कार्यालयमार्फत् तेस्रो किस्ताबापतको रकम भुक्तानीका लागि सिफारिश भइआएको जानकारी दिए ।

उनका अनुसार तीमध्ये एक हजार ९१० लाभग्राहीलाई तेस्रो किस्ताबापतको रकम भुक्तानीका लागि बैंकमा रकम पठाइसकिएको छ भने बाँकी लाभग्राहीको रकम भुक्तानीका लागि प्रक्रिया अघि बढाइएको छ । नासु खनालले भने, “तेस्रो किस्ताबापतको रकम भुक्तानीका लागि सिफारिश भएको घर सङ्ख्या नै पूर्णरुपमा निर्माण भएका निजी आवास हुन् ।”

पुनःनिर्माणमा एक अर्ब ६१ करोड खर्च

भूकम्पपछिको अनुदान रकम वितरण गरिएकामा हालसम्म रु एक अर्ब ६१ करोड २९ लाख ५० हजार निजी आवास पुनःनिर्माणमा खर्च भएको उक्त एकाइले जनाएको छ ।

एकाइका निमित्त प्रमुख दीपेन्द्रकुमार रोहितका अनुसार १२ हजार ८३३ लाभग्राहीले पहिलो किस्ताबापत, पाँच हजार २०२ ले दोस्रो किस्ताबापत र एक हजार ९१० ले तेस्रो किस्ताबापतको रकम बुझेकामा पहिलो किस्ताबापत रु ६४ करोड १६ लाख ५० हजार, दोस्रो किस्ताबापत रु ७८ करोड तीन लाख र तेस्रो किस्ताबापत रु १९ करोड १० लाख निकासा भएको थियो ।

कार्यालयका अनुसार भूकम्पपछि जिल्लामा २५ हजार १७५ घरधुरीको सर्भेक्षण गरिए पनि १३ हजार ८२१ लाभग्राही पहिचान भएका थिए । भूकम्पले घर क्षति भएको भन्दै जिल्लामा सात हजार ३१० ले गुनासो दर्ता गराएका थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुनासोउपर अनुगमन गरी १२३ लाभग्राहीलाई पुनःनिर्माणमा र ६७२ लाभग्राहीलाई प्रवलीकरणमा समावेश गरिएको थियो । निमित्त प्रमुख रोहितले भने, “दोस्रो र तेस्रो किस्ता लाने क्रम बढ्दो छ, यसले घर निर्माण धमाधम भइरहेको देखाउँछ ।”

निजी आवास पुनःनिर्माणका लागि आर्थिक कारोवारबाहेक सबै काम स्थानीय तहले गर्ने सहमति भएपछि आवास पुनःनिर्माणले गति लिने अपेक्षा गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए ।

प्राधिकरणले स्थानीय तहमा इञ्जिनीयर, सवइञ्जिनीयर, सहायक र डकर्मी आवश्यकताअनुसार खटाउने र हाजिरी राख्नेलगायत प्रशासनिक क्रियाकलापको जिम्मेवारी स्थानीय तहले गर्ने समझदारी भइसकेको जनाएको छ । निजी आवास पुनःनिर्माणसम्बन्धी तथ्याङ्क, अभिलेख र दस्तावेज प्राधिकरणबाट स्थानीय तहमा पठाइएको एकाइले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button