म्याग्दीका अठचालीस विद्यालयमा शून्य दरबन्दी

पोखरा न्यूज – ०९, माघ ।

म्याग्दी जिल्लाका ४८ सामुदायिक विद्यालय सरकारी दरबन्दीका शिक्षकबिना सञ्चालन भएका छन् । सरकारी दरबन्दीका शिक्षक नहुँदा समुदायले नै आर्थिक जोहो गर्नुपर्ने बाध्यता छ ।

उन्नाइस मावि तहका विद्यालयमा शून्य दरबन्दी, कक्षा १ देखि ३ सम्म पठनपाठन हुने नौ तथा कक्षा ६ देखि ८ सम्म पठनपाठन हुने २० विद्यालयमा शून्य दरबन्दी रहेको क्षिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले बताए । म्याग्दीमा २३२ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । अन्य विद्यालयमा पनि पूर्ण दरबन्दी छैन ।

“शून्य दरबन्दीका विद्यालयका शिक्षकलाई तलबभत्ताका लागि समुदायमा ब्ययभार परेको छ”, धन जनता मावि फलीयागाउँका प्रधानाध्यापक पुष्कर भण्डारीले भने, “स्थानीयवासीले चन्दा सङ्कलन र तिहारमा देउसीभैलो खेलेर शिक्षक पालेका छौं ।” विद्यालयलाई चन्दा सहयोग गर्न नसक्ने गरीब विपन्न समुदायका अभिभावक समस्यामा छन् । कतिपय ठाउँमा चन्दा जुटाउन नसकेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको धवलागिरि गाउँपालिका–२ लुलाङका तिलाराम विश्वकर्माले बताए ।

दुर्गम र विकट क्षेत्रमा रहेका निजी स्रोतबाट सञ्चालित सामुदायिक विद्यालयमा पर्याप्त तलब सुविधा र अतिरिक्त आम्दानीको स्रोत नहुने भएकाले विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षक नपाउने समस्या रहेको सर्वोदय माविका स्रोतव्यक्ति जयराम सुवेदीले बताए । स्थानीय तहले शिक्षक दरबन्दी मिलान, व्यवस्थापनमा पहल गर्नुका साथै सङ्घीय र प्रदेश सरकारले आवश्यक कानून बनाएर सामुदायिक विद्यालयको समस्या समाधानमा प्राथमिकता दिनुपर्ने मङ्गला मावि बाबियाचौरका शिक्षक हुमनाथ पाण्डेले बताए ।

शून्य दरबन्दीका सामुदायिक विद्यालयको सहयोगका लागि धवलागिरि गाउँपालिकाले यस वर्ष रु १८ लाख विनियोजन गरेको छ । मङ्गला गाउँपालिकाले शून्य दरबन्दीमा सञ्चालित सामुदायिक विद्यालयमा एक-एक शिक्षकको तलब व्यवस्था गर्न रु २५ लाख विनियोजन गरेको छ ।

गाउँपालिकालाई चार रोपनी जग्गा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका बासिन्दाले गाउँपालिकाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका छन् । गाउँपालिकाको केन्द्र पोखरेबगरको गोजेमा ६ स्थानीयवासीले चार रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

स्थानीयवासीले उपलब्ध गराएको जग्गाको मूल्य स्थानीय बजारभाउअनुसार रु एक करोड अनुमान गरिएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । जालवीर पुर्जा, गोपाल बरुवाल, रामबहादुर बिसी, सन्तोष बरुवाल, कप्रसाद पुर्जा र गोकुल बरुवालले निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । समुदायको पहलमा थप नौ रोपनी सार्वजनिक र शिवालय मन्दिर संरक्षण समितिले एक रोपनी तीन आना जग्गा गाउँपालिकाको भवनका लागि उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष खड्ग गिरीले बताए । सो जमीन सम्याएर भवन निर्माण थालिएको छ ।

पहिलो चरणमा गाउँपालिकाअन्तर्गत विषयगत कार्यालयका लागि आवश्यक ६ ब्लक निर्माण गर्न लागिएको हो । जग्गा व्यवस्थापन र भवन निर्माणका लागि चालू आवमा रु ५० लाख विनियोजन गरिएको उपाध्यक्ष केशमाया मगरले बताइन् । पूर्वाधार अभावमा गाउँपालिका र विषयगत कार्यालयका शाखा भाडाको घरबाट सञ्चालन गरिँदै आएका छन् ।

गाउँपालिकाको कार्यालय भवन निजी घर भाडामा लिएर सञ्चालन गरिएको छ । स्वास्थ्य, कृषि, पशुलगायत शाखा स्थानीय आमा समूहको एउटै भवनमा छन् । साँघुरो भवनबाट सेवा प्रवाह गर्न कठिनाइ भएको छ । भवनलगायत पूर्वाधारको व्यवस्था भएपछि सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button