महिलाका लागि असुरक्षित बन्दै अस्ट्रेलिया

पोखरा न्यूज – ०९, माघ ।

नेपाली युवा युवतीको लागि अति आकर्षक गन्तव्य बनेको अस्ट्रेलिया पछिल्ला समयमा भने महिलाका लागि असुरक्षित बन्दै गएको छ ।

अघिल्लो साता एक २१ वर्षीया युवतीको हत्या भएसँगै अस्ट्रेलियामा महिला हिंसा सम्बन्धित बहसहरु तीव्र बनेका छन् । मेलबर्न शहरमा राती घर फर्कदै गरेकी अरबी मुलकी इजरायली विद्यार्थी आया मासर्वीको बलात्कार पछि हत्या भएको थियो ।

उनको परिवारका अनुसार चिनिया र अङ्ग्रेजी भाषाकी विद्यार्थी मासर्वीले अष्ट्रेलिया अन्य ठाउँहरू भन्दा सुरक्षित भएका कारणले त्यहाँको विश्वविद्यालय रोजेकी थिइन । तर उनको हत्याले अष्ट्रेलियामा पछिल्ला समयमा भएका सोही प्रकृतिका घटनाहरुलाई आम जनमानसमा ताजा गराएको छ । हत्यामा २० वर्षीय कोडी हर्मनलाई अभियोग लगाइएको जसलाई आउँदो जुनमा अदालतमा पेश गरिनेछ ।

अष्ट्रेलिया तथ्याङ्क ब्युरोका पछिल्ला आँकडाहरू अनुसार एक तिहाई अस्ट्रेलियन महिलाहरूले शारीरिक हिंसाको अनुभव भोगेका छन् भने प्रत्येक पाँच जना महिलामा एकजनाले यौन हिंसा भोग्नु परेको छ । तथ्यांकअनुसार प्रत्येक १० जना महिलाहरूले अपरिचित व्यक्तिबाट हिंसाको अनुभव गरेका छन् भने घरेलू हिंसाको अवस्था अझ सामान्य छ ।

अझ डर लाग्दो तथ्यांकमा त औसतमा अष्ट्रेलियामा प्रत्येक हप्ता एक महिलाको आफ्नो वर्तमान वा अघिल्लो पुरुष पार्टनरद्वारा हत्या भएको छ।

सिडनी विश्वविद्यालयका सामाजिक कार्य विशेषज्ञ एवम् एसोसिएट प्रोफसेर रूथ फिलिप्सका अनुसार, हत्या महिला विरुद्धको हिंसाको सबैभन्दा चरम रुप हो, तर महिलाहरूलाई आफ्नै घरमा पुर्याइने शारीरिक वा भावनात्मक चोट अझ सामान्य अनि गम्भीर छ । उनले भनिन्, यो एक गम्भीर समस्या हो । संकट नै त हैन तर यो अष्ट्रेलियाको संस्कृतिमा जारी लैङ्गिक असमानताको गम्भीर समस्या हो ।

के गर्नु आवश्यक छ

अष्ट्रेलिया सरकारले २०१२ मा महिला र बालबालिका विरुद्धको हिंसा कम गर्ने राष्ट्रिय योजना नामक समर्पित हिंसा बिरोधी नीति शुरु गरेको थियो ।

तर विशेषज्ञ फिलिप्सका अनुसार उक्त नीतिले महिलाहरूको लागि वासस्थान जस्ता आधारभुत आवश्यकताको अवस्थामा समेत सुधार गर्न सकेको छैन । उनले भनिन् , महिला हिंसामा कमी वा महिलाको सुरक्षामा सुधार, कुनै पनि क्षेत्रमा उल्लेख्य सुधार देखिएको छैन ।

विशेषज्ञहरुले महिला सुरक्षाको अवस्थामा सुधार ल्याउनका लागि व्यापक असमानता कम गर्न बढी ध्यान केन्द्रित गर्नु पर्ने बताएका छन्।

अष्ट्रेलियाको लैङ्गिक भेदभाव सम्बन्धि आयुक्त केट जेनकिन्सले बीबीसीलाई भने, हामी तब मात्र महिला र तिनीहरूका छोराछोरीहरू विरुद्ध हिंसा हटाउन सक्षम हुनेछौँ जब महिलाहरू सुरक्षित मात्र हैन तर दुवै निजी र सार्वजनिक जीवनमा आदर तथा समानता महसुस गर्नेछन् ।

बीबीसी एसियाबाट अनुवादित

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button