पोखरा र ढोरपाटनलाई जोड्दै शिवधुरी

पोखरा न्यूज – १३, माघ ।

काठमाडौँ पछिको पर्यटकको रोजाइस्थल पोखराबाट ७२ किमि दूरी पार गरी पुगिने बाग्लुङबाट करीब २२ किमि सडक पार गरे पछि रमणीय गाउँ शिवधुरी (ब्युहूँ) पुग्न सकिन्छ ।

शिवधुरीबाट ६० किमि दूरी पार गरेपछि नेपालकै महत्वपूर्ण शिकार आरक्ष ढोरपाटन पुगिन्छ । लाखौँ रुपैयाँ खर्चेर शिकारका लागि विशेषतः विदेशी पर्यटक वर्षेनी ढोरपाटन आउँछन् । ढोरपाटन आउनेमध्ये कतिपय काठमाडौँबाट सिधै हेलिकप्टरमार्फत आउँछन् भने कतिपय पोखरा हुँदै सवारीसाधन मार्फत आउँछन् ।

शिकारको प्रयोजनका लागि नभई सामान्य घुमफिरका लागि ढोरपाटन पुग्नेको सङ्ख्या पनि बढी नै हुन्छ ।

दुबै पर्यटकीय स्थल ढोरपाटन र पोखरालाई जोड्ने गरी काठेखोला गाउँपालिका–५ शिवधुरी, ब्युहूँमा यसै वर्षदेखि घरबास कार्यक्रम शुरु गरिएको शिवपुरी सामुदायिक घरबास ‘होम स्टे’ का अध्यक्ष प्रेमबहादुर श्रीसले बताए ।

पहिलो चरणमा यहाँका ११ वटा घरमा घरबास सञ्चालन गरिएको जानकारी दिँदै उनले पोखरा हुँदै ढोरपाटन जाने जो कोही पर्यटकलाई एक पटक बस्नै पर्ने ठाउँका रुपमा यसको विकास गर्न लागिएको बताए ।

प्रकृति र संस्कृतिका विविधतालाई पर्यटक माझ पु¥याउँदै स्थानीय प्राङ्गारिक उत्पादनको स्वाद लिनसक्ने गरी घरबासको विकास गर्न लागिएको उनको भनाइ छ ।

मगरदेखि ब्राह्मण, क्षेत्री, बैश्य, सुद्रलगायतका सबै वर्ग समुदाय मिलेर बसेको यस गाउँमा मगर संस्कृतिका विविध पक्षका साथै मारुनी र सोरठी जस्ता नृत्य हेर्न पाइन्छ ।

गाउँमा रहेका विभिन्न पञ्चेबाजाको समूह, ब्राम्हण समुदायको भजन चुड्काले पनि यहाँको संस्कृतिलाई थप मद्दत पुर्याएको घरबास सञ्चालक समितिका उपाध्यक्ष ध्रुबबहादुर कँडेलले बताए ।

उनका अनुसार यहाँ आउने पर्यटकले स्थानीय रुपमा नै उत्पादित विभिन्न तरकारीका साथै भाँगोको अचार, सिलामे चामलको भात, बाकोको सिन्की आदिको स्वाद लिन पाउँछन् ।

“पहिलो चरणमा सञ्चालित ११ घरमध्ये प्रत्येकमा चार जना पर्यटक राख्न सक्ने गरी व्यवस्था मिलाएका छौँ,” उनले भने, “घरबासलाई पर्यटनमैत्री बनाउने लक्ष्यका साथ आवश्यक तालीम दिने तयारी गरेका छौंँ ।”

शिवधुरी धार्मिक एवम् ऐतिहासक स्थल पनि हो । सडक पूर्वाधार नबन्दै बाग्लुङबाट बुर्तिबाङ, ढोरपाटन हिँड्ने मुख्य पैदल मार्गसमेत भएको यहाँका स्थानीयवासी बताउँछन् ।

यहाँ आसपासका त्रिपुरेश्वर महादेव मन्दिर, शिवधुरी धाम, घोडा बाँधे आदि यहाँका महत्वपूर्ण आकर्षण रहेको काठेखोला गाउँ कार्यपालिकाका सदस्य एवम् स्थानीय समाजसेवी हेमलाल विकले बताए ।

मनोकाँक्षा पूरा हुने विश्वासका साथ यहाँस्थित शिवपुरी धाममा दर्शनार्थीहरू पुग्ने गरेका छन् ।

नजिकै रहेका यी धार्मिक एवम् ऐतिहासिक स्थलका कारण यसलाई धार्मिक पर्यटनको पनि आकर्षक गन्तव्यका रुपमा विकास गरिने लक्ष्य राखिएको छ ।

गण्डकी प्रदेश सरकारले प्रदेशभित्र ३०० सय घरबासको विकास गर्ने लक्ष्य राखिरहेको अवस्थामा शिवधुरीमा सञ्चालित घरबास प्रभावकारी बन्ने विश्वास लिइएको गाउँपर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष रविन्द्रराज पौडेलले बताए ।

“सन् २०१९ लाई गण्डकी प्रदेशमा आन्तरिक भ्रमण वर्ष मनाइरहेको अवस्थामा यस किसिमका घरबासको विस्तारले पर्यटकीय गतिविधि चलायमान बनाउँछ,” उनले भने, “शिवधुरी घरबास पोखरा र ढोरपाटनलाई जोड्न पनि महत्वपूर्ण बन्ने अपेक्षा गरेका छौँ ।”

सन् २०२२ मा गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई साकार पार्न घरबासको विस्तार तथा विकास आवश्यक रहेको भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले बताए ।

“पोखरा हुँदै ढोरपाटन पुग्ने पर्यटकको बसाइ लम्ब्याउन शिवधुरी घरबास महत्वपूर्ण बन्न सक्छ,” उनले भने, “आवश्यक पूर्वाधार विकास एवम् तालीमका माध्यमबाट घरबासलाई प्रभावकारी बनाउन आवश्यक छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button