बागलुङको काठेखोलाका आठ स्थानमा घरबास शुरु

पोखरा न्यूज- १४, माघ ।

काठेखोला गाउँपालिकाका आठ स्थानमा सामुदायिक घरबास (होमस्टे) कार्यक्रम शुरु भएको छ । गाउँमा पर्यटक भित्र्याउने लक्ष्यसहित घरबास चलाउन गाउँले कस्सिएका हुन् ।

घुमफिर, खानपान र संस्कृतिका हिसाबले यहाँका ग्रामीण बस्ती घरबासका लागि उत्तम मानिन्छन् । गाउँपालिका–७ रेशमा मात्रै चार घरबास सञ्चालनमा ल्याइएको छ । बौर, डोटा देउराली, मौरी झरना र रेश सामुदायिक घरबास गरी चार ठाउँमा घरबास कार्यक्रम शुरु भएको हो ।

यस्तै वडा नं ५ बिहुँ, थाम्डाँडामा शिवधुरी, वडा नं ८ लेखानीमा कादेश, वडा नं ४ तङ्ग्राममा फापरखेत झुलेनी र वडा नं ३ धम्जामा बेलढुङ्गा सामुदायिक घरबास सञ्चालनमा आएको छ ।

रेशका चार वटैमा गरी ३२ घरमा घरबास सेवा शुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले बताए। “गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न घरबास कार्यक्रम ल्याइएको हो”, उनले भने ।

घरबास भर्खर शुरु भएकाले पूर्वाधार तयारी र प्रचारप्रसारलाई बढी जोड दिइएको बौर सामुदायिक घरबासका अध्यक्ष होमबहादुर पुनले बताए । घरबासमा बौरका पाँच, डोटा देउरालीका सात, रेशका नौ र मौरी झरनाका ११ घर समेटिएका छन् । सबैमा गरी झण्डै १५० पाहुना राख्न सकिने जनाइएको छ । घरबास चलाउनेमा दुई जनजाति बाहुल्य बस्ती हुन् ।

“पाहुनालाई सेवा, सुविधा र आतिथ्यता कसरी दिन सकिन्छ भन्नेतिर लागेका छौँ”, अध्यक्ष पुनले भने, “पूर्णरूपमा सेवा दिन केही समय लाग्ला ।” यता बिहुँको शिवधुरीले ११, तङ्ग्रामको झुलेनीले ३२ र धम्जाको बेलढुङ्गा घरबासले १३ घरधुरी समेटेको छ । शिवधुरीमा मिश्रित जातजाति भए पनि झुलेनी र बेलढुङ्गा जनजाति बाहुल्य भएका बस्ती हुन् ।

घरबासमा आउने पाहुनालाई पर्यटकीय ठाउँ घुमाउने, स्थानीय परिकार खुवाउने र संस्कृति देखाउने योजना गाउँलेको छ । “ग्रामीण जीवनशैली र रहनसहनको अनुभव दिलाउँछौँ”, शिवधुरी घरबासका उपाध्यक्ष धु्रवबहादुर कँडेलले भने ।

मकै, कोदो, जौ, फापर, भाँगो, तोरी आलु, सिन्की जस्ता स्थानीय उत्पादनबाट बन्ने परिकार घरबासमा उपलब्ध हुनेछन् । घरबास रहेका सबै बस्ती उच्च भेगमा भएकाले त्यहाँ पुग्ने पर्यटक हिमशृङ्खलाको अवलोकनमा रमाउन पाउनेछन् ।

आसपपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा समेत घरबासले टेवा पु¥याउने ठानिएको छ । वडा नं ७ रेशमा पुग्ने पर्यटक पदयात्रामार्फत गाजा दह, भकुण्डे, भैरवस्थान पुग्न सक्छन् ।

यस्तै शिवधुरी आउने पर्यटक त्रिपुरेश्वर महादेव, शिवधुरी धाम, घोडाबाँधे लगायतका पर्यटकीय गन्तव्यमा घुमफिर गर्न सक्नेछन् । फापरखेत, बेलढुङ्गा घरबासमा पुग्ने पर्यटक पनि त्यहाँका आकर्षक पर्यटकीय गन्तव्यमा लोभिनेछन् । पर्यटनमैत्री पूर्वाधार र घरबाससम्बन्धी तालीमका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन गाउँपालिका पनि तयार छ ।

“घरबासको प्रवद्र्धनमा हामी पनि सघाउँछौँ”, गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले भने, “पर्यटन प्रवद्र्धनमा सबैको हातेमालो चाहिन्छ ।” उनले काठेखोला कृषि र वनमा आधारित पर्यटन विकासका लागि उपयुक्त स्थल भएको बताए ।

घरबास सञ्चालकले पदमार्ग, बगैँचा, दृश्यावलोकन स्तम्भ जस्ता पर्यटकीय संरचना बनाउने योजनासमेत बनाएका छन् । घरबासका लागि पूँजीगत अनुदान लिन गण्डकी प्रदेश सरकारसँग माग र प्रस्तावनासमेत पठाएका छन् ।

प्रदेश सरकारले पनि गण्डकीमा ३०० घरबास चलाउने योजना अघि सारेको छ । एउटा घरबासका लागि रु १० लाखसम्म अनुदान दिने नीति छ । ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनका लागि घरबास प्रभावकारी हुने ठानिएको छ ।

पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिर घरबासका आकर्षण हुन् । बिहुँको शिवधुरी सामुदायिक घरबासको उद्घाटन शनिबार गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गरेका थिए ।

सोही अवसरमा गाउँ पर्यटन प्रवद्र्धन मञ्चले शिवधुरी सामुदायिक घरबासको अवलोकन भ्रमणसँगै घरबाससम्बन्धी अभिमुखीकरण कार्यक्रमकोसमेत आयोजना गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button