गण्डकी प्रदेशसभा बैठक : दुई विधेयक विधायन समितिमा

पोखरा न्यूज- १५, माघ ।

गण्डकी प्रदेशसभाको आज बसेको बैठकले औद्योगिक व्यवसाय विधेयक र ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ । दुवै विधेयकको सामान्य छलफलपछि विधायन समितिमा पठाइयोस् भन्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको हो ।

औद्योगिक व्यवसाय विधेयकमाथिको सामान्य छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, डोवाटे विश्वकर्मा र पियारी थापाले उद्योग क्षेत्रमा लगानीको आकर्षण गर्दै यसलाई प्रभावकारी रुपमा अघि बढाउन विधेयक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयकको सामान्य छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य राजीव पहारी, विन्दुकुमार थापा र हरिशरण आचार्यले तालको संरक्षण तथा विकासका लागि प्राधिकरण आवश्यक रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

दुवै विधेयकमाथिको सामान्य छलफलमा उठेका विषयमा छुट्टाछुट्टै धारणा राख्दै उद्योग, मन्त्री लम्सालले सदस्यहरूले उठाएका विषयलाई विधायन समितिमा दफावार छलफल गरिने बताए ।

आजको बैठकमा विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सोमबार प्रदेशसभा सदस्य राजीव गुरुङको शपथ सम्बन्धमा प्रतिपक्षलाई कुनै जानकारी नगराइएको बताउँदै शपथ प्रक्रिया गलत भएको उल्लेख गरे ।

प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले लगातारको हिमपातसँगै विद्युत्का पोल भाँचिदा बाग्लुङका विभिन्न स्थानमा विद्युत् अवरुद्ध भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले हिमपातका कारण धनजनको क्षति भएको बताउँदै तत्काल राहत एवम् क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । कुमार खड्काले बजेट पारित भएको आठ महीना बितिसक्दा पनि दुई प्रतिशत मात्र विकास खर्च भएको भन्दै सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लागए ।

विशेष समयमा प्रदेशसभा सदस्य विनोद केसी, कृष्ण थापा, हरिशरण आचार्य र जुनादेवी नेपालीले बोल्नुभयो भने शून्य समयमा डोवाटे विश्वकर्मा र मणिभद्र शर्माले बोल्नुभएको थियो । अर्को बैठक आगामी माघ २३ गते दिनको १ बजे बस्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button