तनहुँको घिरिङमा तीन करोड लागतमा कृत्रिम ताल बनाइने

पोखरा न्यूज – १८, माघ ।

तनहुँ घिरिङमा रु तीन करोडको लागतमा कृत्रिम तालको निर्माण हुने भएको छ ।

पचास रोपनी क्षेत्रफलमा निर्माण हुने सो तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ । घुमाउने ताल नामकरण गरिएको सो तालका बीचमा मन्दिर बनाउने योजनासमेत बनाइएको छ ।

सो ताल निर्माणका लागि घिरिङ गाउँपालिकाले चालू आर्थिक वर्षमा रु ३० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका एक्लैको बजेटले ताल निर्माण पूरा नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसँग आर्थिक सहयोग गर्न अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए  । उनले कृत्रिम ताल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) समेत तयार भइसकेको जानकारी दिए  ।

“घिरिङलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसहित कृत्रिम तालको अवधारणा ल्याइएको छ”, अध्यक्ष रानाले भने, “ताल निर्माण शुरु भएको तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।”

अध्यक्ष रानाले भने , “डुङ्गा चढेर तालको बीचमा रहने मन्दिरमा सर्वसाधारणले दर्शन गर्न सक्नेछन् । उक्त ताललाई पोखराको फेवाताल जस्तै गरी विकास गरिनेछ ।” ताल वरपरका क्षेत्रमा रेस्टुराँ, पिकनिकस्थलसमेत सञ्चालन गर्ने योजना बनाइएको उनको भनाई छ ।

पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले वडा नं ३ मा गोफाखोला थुनेर बनाउन लागेको कृत्रिम तालको आज गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले स्थलगत अवलोकन गर्नुभयो ।

सो अवसरमा मन्त्री लम्सालले गण्डकी प्रदेश पर्यटनमा उत्कृष्ट प्रदेश रहेको भन्दै स्थानीय तहले पर्यटन प्रवर्द्धनका लागि चाल्ने हरेक गतिविधिमा प्रदेश सरकारको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, “पर्यटनबाटै प्रदेशलाई समृद्ध बनाउने सरकारको योजना छ, हरेक स्थानीय तहले यो लक्ष्यलाई पूरा गराउन सहयोग गर्नुपर्छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button