गोरखामा कृत्रिम गर्भाधान केन्द्रको स्थापना

पोखरा न्यूज- १४, माघ ।

गोरखा जिल्लामा कृत्रिम गर्भाधान केन्द्रको स्थापना भएको छ ।

गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोमा गण्डकी प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी आज केन्दको स्थापना गरिएको हो ।

जिल्लाभित्रका कृषककोे घरपालुवा पशुबस्तुमा कृत्रिम गर्भाधानका लागि सेवा प्रदान गर्न केन्द्रको स्थापना गरिएको मन्त्रालयका पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय निर्देशक डा मनबहादुर पुनले जानकारी दिए ।

“यो कार्यालयले तत्कालका लागि गोरखा नगरपालिकासहित आसपासका क्षेत्रमा सेवा पुर्याउने योजना छ”, उनले  भने, “बिस्तारै गाउँपालिकासँग समन्वय गरेर यसले कार्यक्षेत्र बिस्तार गर्दै लैजान्छ ।”

सेवा केन्द्रले आजैदेखि सेवा शुरु गरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिए । उनले कृषकले पटकपटक कृत्रिम गर्भाधानका केन्द्र स्थापनका लागि माग गरेकाले यहाँको आवश्यकतालाई मध्यनजर गरी कार्यालय शुरु गरिएको बताए ।

“कृषकले जिल्लामा केन्द्र स्थापनाका लागि हामीसँग धेरैपटक कार्यालयमा आएरसमेत अनुरोध गर्नुभएको थियो”, कार्यालय प्रमुख ठाकुरले भने, “ढिलै भए पनि उहाँको मागको सम्बोधन भएको छ ।”

केन्द्र स्थानपना भएसँगै व्यावसायिकरुपमा गाई, भैँसी, बाख्रालगायतका पशुवस्तु पालन गर्ने कृषकलाई सजिलो भएको उनको भनाइ छ । “यो केन्द्रमा ल्याएर एउटा पशुबस्तुको कृत्रिम गर्भाधान गरेको रु २५ कृषकले शुल्क बुझाउनुपर्छ”, ठाकुरले भने, “ठूला पशुबस्तु केन्द्रमा ल्याउन नसकिने हुँदा घरमै पशुसेवा प्राविधिक लैजानुपर्ने अवस्थामा कृषकले दूरी हेरी थप शुल्क तिर्नुपर्ने हुन्छ ।”

त्यस्तै केन्द्रबाट घरपालुवा पशुवस्तुमा लाग्ने सबै खालका रोगको उपचारसमेत गरिने व्यवस्था रहेको कार्यालय प्रमुख ठाकुरले जानकारी दिए । केन्द्रमा तत्कालका लागि एक जना पशुसेवा प्राविधिकले सेवा प्रदान गर्ने उनले बताए ।

एउटा मात्र केन्द्रले जिल्लाभरिका आवश्यकता पूरा गर्न नसक्ने भन्दै छिट्टै गाउँपालिकासँग समन्वय गरी तालीम दिएर सबै गाउँपालिकामा सेवा पुर्याउने उदेश्य रहेको उनलेको भनाइ छ । केन्द्रको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले उद्घाटन गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button