म्याग्दीको नदी तथा खोलामा जलचरको अस्तित्व सङ्कटमा

पोखरा न्यूज – २०, माघ ।

विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका नदी तथा खोलामा रहेका जलचर लोप हुने अवस्थामा पुगेका छन् ।

नारच्याङमा रहेका नदी तथा खोलाबाट धमाधम जलविद्युत् आयोजना निर्माण हुन थालेपछि जलचरको बासस्थान नास हुनुका साथै वातावरणीय सन्तुलनसमेत बिग्रेकाले जलचरको अस्तित्व सङ्कटमा परेको स्थानीयवासीले बताएका छन् ।

वर्षौँदेखि पाइने गरेका स्थानीय भुरे जातका माछा, गङ्गटा, गड्यौलालगायतका जलचर लोप हुँदै गएका स्थानीयवासीले बताएका छन् । जलचर लोप हुन थालेपछि वातावरणीय असन्तुलन उत्पन्न हुनुका साथै खोला तथा नदीवरपरका खेतीयोग्य जमीनको माटोमा उर्वराशक्ति कम हुँदै गएको उनीहरुको भनाइ छ ।

नारच्याङ जलचर र जङ्गली जनावरको बासस्थानका लागि अत्यन्त अनुकूल स्थान भएको ठाउँ भनेर चिनिन्छ । पछिल्लो समय यहाँका नदी तथा खोलाबाट विद्युत् आयोजना निर्माण गर्ने होडबाजी नै चलेकाले जलचर सङ्कटमा परेका नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइमा कार्यरत शिव पुर्जाले बताए ।

नारच्याङमा १५७ मेगावाटका पाँच जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन अवस्थामा रहेका ती जलविद्युत् आयोजनाका स्रोत भनेका यहाँ रहेका नदी तथा खोला नै हुन् । यी नदी र खोलामा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेपछि यहाँका जलचरदेखि रैथाने प्रजातिका पुतली, वनस्पति र पक्षीहरु हराउँदै जान थालेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष चन्द्रप्रसाद फगामीले बताए ।

‘हाइड्रो भिलेज’ का नामले चर्चित नारच्याङमा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेपछि स्थानीयवासीले रोजगारी पाउनुका साथै जीवनस्तरमा उल्लेख्य सुधार आउँदा खुशी लागे पनि यहाँका सम्पदा र प्राकृतिक स्रोत नासिँदा भने दुःख लागेको वडाध्यक्ष फगामीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button