बागलुङको जैमिनीमा पक्की सडक बन्दै

पोखरा न्यूज -२४ , माघ ।

बागलुङको जैमिनी नगरपालिकामा पहिलो पक्की सडक निर्माण गर्न थालिएको छ । उक्त नगरपालिका दक्षिण बागलुङको व्यपारिक केन्द्र हो ।

नगरपालिकाले नगरको केन्द्र कुश्मीसेरा बजार र बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारलाई जोड्ने सडकलाई पक्की बनाउन थालिएको हो । वर्षायाममा हिलाम्मे र हिउँदयाममा धुलाम्मे हुने यो सडक कालोपत्रको लागि काम थालिएको नगरपालिकाले जनाएको छ । एक दशक अगाडि नै बागलुङ–कुश्मीसेरा खण्डको मुख्य सडकको ट्र्याक खुलेको थियो ।

नगरपालिकाले पहिलो चरणमा सडक कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई केन्द्र मानेर उक्त सडकखण्डको भव्रिखेतदेखि जुम्लीखोलासम्मको सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत प्राप्त रु एक करोड र नगरपालिकाको साझेदारी रु एक करोड गरी रु दुई करोडको लागतमा उक्त खण्ड कालोपत्र हुँदैछ । एक हजार ६०० मिटर सडक कालोपत्र गर्नका लागि टेण्डर प्रक्रिया अगाडि बढाइएको शर्माले बताए ।

बागलुङ–कुश्मीसेरा सडकखण्डको २१ किलोमिटरमध्ये बागलुङ नगरपालिकाभित्र पर्ने चार किलोमिटर कालोपत्र र कुश्मीसेरा नजिकैको जुम्लीखोलामा ३७ मिटर ढलान सडकबाहेक अन्य सडक कच्चीे छ । नगरका सबै वडामा यात्रु बस चल्ने गरी कच्ची सडकको सञ्जाल बनाउने योजना बनाएको नगरपालिकाले यस वर्ष दुई किलोमिटर मात्रै भए पनि पक्की सडक बनाउन लागेको नगरप्रमुख इन्द्रराज पौडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button