“संस्कृति बाँचे हामी बाँच्छौँ”

पोखरा न्यूज -२४ , माघ ।

यहाँका लोकसंस्कृति अनुसन्धाता तुलसी प्रवास निरन्तर लोकसंस्कृतिको संरक्षण र अनुसन्धानमा जुटेका छन्  ।

“मौलिक संस्कृति बाँचे मात्रै आफ्नो पहिचान जीवन्त हुन्छ” भन्दै स्याङ्जा भीरकोट नगरपालिका वडा नं ८ का तुलसीप्रसाद खनाल अहिले लोकसाहित्य जगत्मा तुलसी प्रवासबाट चिन्छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गोष्ठीमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली लोकसंस्कृतिलाई अन्तरराष्ट्रियस्तरमा समेत चिनाउन भूमिका खेलेका प्रवासले नेपालमै पहिलो पटक अनुसन्धान गरी निर्माण गरिएको ‘गल्लैलाउरे’ लोकगीत अनुसन्धानात्मक कृति प्रकाशन गरेका छन् । यसको वृत्तचित्र अन्तर्राष्ट्रिय लोक चलचित्र महोत्सवका लागि छनोट भई प्रदर्शनसमेत भएको छ भने गत मङ्सिरमा कोलकातामा आयोजित तेस्रो अन्तरराष्ट्रिय नेपाली साहित्यमा पनि प्रदर्शन भयो । लाहुरे बन्न विवश नेपाली युवा र तिनका अभिभावक तथा परिवारका पीडा त्यसमा अभिव्यक्त भएको छ ।

अनुसन्धाता प्रवासले भने “यो नेपाली ग्रामीण समाजको उपज हो । गाउँका बूढापाकाले जसरी गाउँछन् त्यो नै यसको मूल स्वरुप हो । बूढापाका नै यस गीतका जन्मदाता र संरक्षक हुन्छन् ।” “गल्लैलाउरे” गीतको आफ्नै विशेषता छ । यो मौखिक परम्परामा जीवित रहँदै आएको गीत हो । आजसम्मको अनुसन्धानमा यो गीत कतै ‘रेकर्ड’ नगरिएको प्रवास जिकिर गरे । ‘गल्लैलाउरे’ कहिलेदेखि गाउन थालियो भन्ने यकिन नभए पनि वर्षौँ पहिले गाइने खेली गीतकै एउटा लयगत भेदनका रुपमा लिन सकिने उनले बताए । “विशेष गरी महायुद्धको समयमा गल्लाहरु नेपालका गाउँगाउँमा आएर नेपाली युवाहरुलाई भर्ती गर्न लैजान्थे । त्यतिबेला उनीहरुको चालचलनबाट नेपाली युवती पनि प्रभावित हुँदै प्रेममा पर्थे । आफ्नो काम सकेर गल्लाहरु फर्केने क्रममा नेपाली चेलीहरुले रातभर गीत गाएर बिदाइ गर्थे । आफ्ना प्रेमी भर्तीमा जान लागेको पीडाले चेलीहरुको मनमा विरह उत्पन्न हुन पुग्थ्यो । यो विछोडको अवस्थामा गाउने गीत नै गल्लैलाउरे गीत हो ।”

यो गीत विशेष गरी पर्वतको दक्षिण र स्याङ्जाको पश्चिम भेगमा बढी प्रचलित रहेको उनको भनाइ छ । ‘गल्लैलाउरे’ लोकगीतले तत्कालीन परिवेशको यथार्थ चित्रण गर्ने गरेकाले यसको ऐतिहासिक महत्व रहेको उनले  बताए । नेपाली लोकसंस्कृतिको अनुसन्धान गरेर मौलिक संस्कृतिको जगेर्नामा भूमिका खेलेवापत दर्जन बढी संस्थाबाट सम्मानित प्रवासले ‘गल्लैलाउरे’ बाहेक अनुसन्धानात्मक कृति ‘आँधीखोले लोकगीतको विश्लेषण’ २०६८ र ‘खेली गीतमा अभिब्यक्त नेपाली लोकजीवन २०७०’ प्रकाशन गरिसकेका छन् । पोखरा विश्वविद्यालयका उपप्राध्यापक प्रवास नेपाली लोकगीतमा नै विद्यावारिधिमा अनुसन्धानरत छन । उनी नेपालका विभिन्न जिल्लामा पुगेर विभिन्न जातजातिको सामाजिक सांस्कृतिक अध्ययन गर्दैै आएका छन् ।

उनका गीत, गजल, कथा, कविता, हाइकु, निबन्ध र समालोचना विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा प्रकाशन हुँदै आएको छ । नेपालभरी १२५ जातजाति तथा गण्डकी प्रदेशमा करीब ८० जातजाति छन् । गण्डकी प्रदेशमा ५० जति आदिवासी रहेको र त्यसको अध्ययन अनुसन्धान गरिरहेको उनको भनाइ छ । लोक संस्कृतिको जर्गेनाका विषयमा प्रवासले भने “आजकाल मानिसहरु लोकसंस्कार र संस्कृतिको कुरामा उति रमाउन मन पराउँदैनन् । यो डरलाग्दो अवस्था हो । एक विद्वान्ले भनेका छन् कुनै पनि देशको राष्ट्रलाई सिध्याउनु छ भने त्यो देशको अर्थतन्त्रलाई ध्वस्त पारिदिनू, कुनै पनि जाति र पहिचानलाई सिध्याउनु छ भने त्यस जातिको संस्कृति सिध्याइदिनू ।”

संस्कृतिले जातजाति र समुदायको पहिचानलाई जीवन्तता प्रदान गर्दै एकताको भावनालाई जोड्न भूमिका खेल्छ । “बलियो संस्कृतिले आत्मीयता र बन्धुत्वको भावनालाई मजबुत बनाई राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राख्छ ।” साँस्कृतिक विचलन भएमा त्यसले समाजलाई खण्डीकरण गराउने उनको तर्क छ । पाश्चात्य संस्कृतिको प्रभावले नयाँ पुस्ता आफ्नो मौलिकपन, संस्कार र संस्कृतिबाट टाढिदै गएकामा उनको चिन्ता छ । प्रवासले भने, “विविधताबीचको एकता खल्बलिन गएको छ, यो दुःखद् हो । हामी बाँच्न लोक संस्कृतिलाई हामीले नै बचाउनुपर्छ । ” संस्कृति मौलिक पहिचान हो । नेपालभित्र यसको विविधता छ । यो असाध्यै सुन्दर पक्ष हो । संस्कृतिको माध्यमबाट संसार चिनाउन सकिन्छ । संस्कृति अनुशासन हो । यसले हामीलाई नैतिकवान् बन्न प्रेरित गरेको हुन्छ । संस्कृतिले कुनै व्यक्तिलाई नभई समुदाय र राष्ट्रलाई चिनाउन भूमिका खेल्छ ।

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close