म्याग्दीको तातोपानीमा शयनकक्ष र थप पोखरी निर्माण

पोखरा न्यूज -२५ , माघ ।

बेनी नगरपालिका–४ मा प्राकृतिक तातोपानीमा स्नान गर्न सकिने ‘बाथ ट्युब’ शयनकक्ष र थप पोखरी निर्माण भएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले स्नानका लागि आउने पाहुनाको सुविधाका लागि शयनकक्ष सञ्चालनमा ल्याएको हो ।

शयनकक्ष र थप पोखरी निर्माण भएपछि तातोपानीमा जुनसुकै समयमा पनि स्नान गर्न सकिने र पालो पर्खनु नपर्ने समितिका सहसचिव कुमार केसीले जानकारी दिए । रु पाँच लाखमा निर्माण भएको तीन जना क्षमताको ‘बाथ ट्युब’ सुविधायुक्त तरिकाले प्राकृतिक तातोपानीले स्नान गर्न सकिने सुविधा छ ।

तीन वटा छुट्टाछुट्टै गोप्य कोठाभित्र रहेको शयनकक्षमा बसेर एक घण्टासम्म स्नान गर्न समितिलाई प्रतिव्यक्ति रु २०० शुल्क तिर्नुपर्ने जनाइएको छ । रु पाँच लाखको लगानीमा ‘बाथ ट्युब’ निर्माण भएको हो । प्रभु एयरका क्याप्टेन शोवित गौचनले रु एक लाख, बुटवलका हीराबहादुर गौतमले रु ५० हजार र काठमाडौँका तेजिन्द्र खड्काले रु ५० हजार सहयोग गरेका थिए ।

रु तीन लाखको लागतमा म्याग्दी नदीको किनारमा निर्माण भएको पोखरीमा एक पटकमा ४० देखि ५० ले स्नान गर्न सक्नेछन् । पोखरीको लम्बाइ र चौडाइ १२-१२ फिट छ । छोटो अवधिका लागि आउने पर्यटकका लागि तातोपानीमा स्नान गर्न सकिने पोखरी बनाइएको हो । यसअघि तातोपानीमा स्नानका लागि एउटा मात्र २५० जना क्षमताको पोखरी थियो ।

जमीनभित्रबाट वीरे नूनको गन्धमा ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा चोट पटक लागेको, सर्के–मर्केको, ग्यास्ट्रिक, गानोगोला, नशा, छालासम्बन्धी समस्या भएका बिरामी स्नान गरेर उपचारका लागि आउँछन् ।

शयनकक्ष र पोखरीको उद्घाटन गर्दै बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले पूर्वाधार विस्तारसँगै पाहुनालाई सुविधा र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । तातोपानीमा छोटो अवधिका लागि आउने विशिष्ट पाहुनालाई लक्षित गरेर पूर्वाधार विस्तार गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।

तातोपानीमा डुबेर स्नानका लागि देशका विभिन्न स्थानका साथै विदेशबाट समेत गरेर वार्षिक १६ हजार पाहुना आउने गर्छन् । कुण्डको आम्दानी र चन्दा सहयोगबाट कुण्डको संरक्षण, कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन हुने गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button