सरस्वतीको पूजा आराधनासहित श्रीपञ्चमी मनाइँदै, राष्ट्रपतिबाट वसन्त श्रवण

पोखरा न्यूज- २७, माघ ।

आज विद्याकी देवी सरस्वतीको पूजाआराधनासहित श्रीपञ्चमी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिएको छ । बसन्त पञ्चमीबाटसमेत चिनिने यो दिनमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई विद्या आर्जनमा लागेका विद्यार्थीले पूजाआजा गर्ने गरेका छन् ।

आजका दिन प्रत्येक विद्यालयमा विद्याकी देवीका रुपमा परिचित सरस्वतीको पूजाआराधन गरिन्छ । विद्यार्थीहरुले बिहानै उठेर नुहाइधुवाई गरी आफूले पढ्ने पुस्तक तथा कापीकलमको पूजा गर्छन् ।

त्यस्तै साहित्यकार, संगीतकारलगायतले पनि आफ्ना कला साधनाका सामग्रीहरुको पूजा गर्ने चलन छ । श्रीपञ्चमीका दिन गरिने जुनसुकै शुभकार्यका लागि साइत हेर्न नपर्ने विश्वास गरिन्छ । आज बिहानैदेखि सरस्वती मन्दिरमा श्रद्धालुहरुको भीड लागेको छ । आजकै दिन साना वालवालिकालाई अक्षर चिनाउने पनि चलन छ ।

राष्ट्रपतिबाट वसन्त श्रवण

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गरेकी छन्  ।

हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो । उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरे  ।

श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवान्को आराधना गरेको प्रसङ्ग उल्लेख छ ।

वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुआत हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहमन्त्रालयका सचिव प्रेमकुमार राई, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकद्वय पनि वसन्त श्रवणका लागि हनुमानढोका पुगेका थिए ।

त्यस अवसरमा नेपाली परम्परागत लोकबाजा पञ्चेबाजा बजाइएको थियो भने नेपाली सेनाका विभिन्न गणका निशानसमेत प्रस्तुत गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button