फेवाताल किनार र सराङकोट जोड्ने अन्नपुर्ण केवलकारको निर्माण कार्य ७० प्रतिशत पुरा

बैशाखदेखि ८ मिनेटमै सराङकोट पुग्न सकिने

पोखरा न्यूज- २८, माघ ।

पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा निर्माण हुदै गरेको अन्नपुर्ण केवलकारको करिब ७० प्रतिशत  निर्माण कार्य सम्पन्न भएको छ ।

पोखराको फेवाताल किनार र सराङकोटलाई जोड्ने गरी निर्माणाधीन अन्नपुर्ण केबलकारको हालसम्म करिब ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको संचालक निर्देशक मध्यका एक तिर्थराज त्रिपाठीले पोखरा न्यूजलाई बताए । आगामी वैशाख पहिलो साता भित्र अन्नपुर्ण केबलकारको परिक्षण सुरु गर्ने गरी निर्माण कार्य तिव्र पारिएको उनले बताए ।

दुईदेखी तिन  दिनमा  जापानबाट दक्ष प्रविधिको तिन  सदस्य टोली निर्माण स्थलमा आएर  केवलकार जडानमा सहयोग गर्ने भएको निर्देशक त्रिपाठीले जनाए । केबलकार निर्माणको लागि आवश्यक सामाग्रि पोखरा आइसकेको उनले बताए । पोखरामा मेसिनरी सामानहरु आइसकेकाले मेसिनरी खरिद गरिएको  जापानी कम्पनीका प्राविधिक टोलीले पोखरामै बसेर जडान गर्ने निर्देशक त्रिपाठीले बताए ।

२ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १८ वटा डिब्बा ( गोन्डोला) रहने र  प्रति डिब्ब ८ जनाको सिट क्षमता हुने  निर्देशक त्रिपाठीले बताए । माथिल्लो स्टेशनमा भवन सहित वेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण हुदैछ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निर्माण हुने भएको छ ।

त्रिपाठीका अनुसार फेवातालको किनार सेदी बगरबाट सराङकोटसम्म जोड्ने केवलकारका  १३ वटा पोल मध्ये हालसम्म १० वटा पोल जडान भइसकेका छन्।  बाकी ३ वटा पोल एक साता भित्र जडान गरिने त्रिपाठीले जनाए । तल्लो स्टेशन तथा माथिल्लो स्टेशन भवनको निर्माण कार्य लगभग सकिएको र अब फिनिसिङको काम बाँकी रहेको उनले बताए ।

पर्यटन प्रबर्धन  गर्न अन्नपूर्ण केबलकार प्रालिले संचालन गर्न लागेको उक्त केबलकारको लागत रकम बढ्ने भएको निर्देशक त्रिपाठीले बताए । एक अर्ब १० करोडको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा हाल लागत बढेका कारण करिब एक अर्ब ३० करोड लगानी पुग्ने भएको उनले जनाए । स्टेशन निर्माण गर्ने बिषयमा पहिला स्टिल फेब्रिकेशन मोडलमा  निमार्ण गर्ने लक्ष्य राखेपनि पछि आएर आरसिसि (कंक्रिट) मोडलमा निर्माण गरेकोले लागत बढ्न गएको उनले बताए ।

केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । प्रति घण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्ने क्षमताको केवलकार निर्माण हुने भएको उनले जनाए । केबलकार निमार्ण भए पछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने छ । अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ४५ मिनेट लाग्छ ।

सराङकोट र सेतीबगरमा स्टेसन राख्नका लागि प्रालिले जग्गा खरिद गरिसकेको छ भने बन क्षेत्रमा पर्ने २४ रोपनी जग्गाको सट्टाभर्ना गराईसकेको प्रालिले जनाएको छ । कम्पनीले लुम्लेमा विभिन्न व्यक्तिहरुसंगबाट जग्गा किनेर सट्टा भर्ना दिएको छ । साथकै कम्पनीले बार्षिक उक्त जगगको राजश्व समेत तिर्नुपर्ने हुन्छ । सरकारले ४० वर्षका लागि लिजमा उक्त जग्गा उपभोग गर्न स्वीकृत दिएको छ । त्यसैगरी कम्पनीले तल्लो स्टेशनमा १४ र माथिल्लो स्टेशन क्षेत्रमा करिब १२ रोपनी जग्गा लिएको छ ।

केबलकारमा युवा व्यवसायि कालु गुरुङ सहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको शेयर  १० प्रतिशत रहेको प्रालिले जनाएको छ। उक्त योजनालाई  राष्ट्रिय बाणिज्य बैंक र सनराईज बैंकले कर्जा प्रवाह गरेका छन्।

अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ रहेका छन्। कम्पनीले स्थानीय २ सय ७० जनालाई  ४ करोड मुल्य बराबरको  शेयर दिएको कम्पनीले जनाएको छ । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भएपनि यो केबलबार नयाँ प्रविधि प्रयोग गरिएको  अध्यक्ष गुरुङले बताएका छन्।

केबलकार अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै बनाउने लक्ष्य राखिएको बताएका उनले जापानको निप्पोन केबलकारको प्रविधि र सामान अन्नपूर्ण केबलकारमा प्रयोग भएको  दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button