विदेशबाट फर्केर कृषिमा जम्दै बाग्लुङका युवा

पोखरा न्यूज- २९ माघ ।

एक वर्ष पहिले मलेशियाबाट फर्किएका बागलुङको निसिखोला गाउँपालिका–३ झिँवाखोलाका राजमन बुढा यतिबेला तरकारी बारीमा देखिन्छन ।

विदेशमा गुमाएको पाँच वर्ष सम्झँदै बुढाले आफ्नै बारीमा लगाएको तरकारीमा भविष्य खोजिरहेका छन् । तीन वर्ष बहराइनको होटलमा काम गर्दाका दुःख र दुई वर्ष मलेशियाको एक कम्पनीमा सुरक्षा गार्डको रूपमा काम गर्दाका दुःख अहिले पनि उनको मानसपटलबाट बाहिरिएको छैन । सानोतिनो किराना पसल गरेर गाउँमै बस्नुभएका बुढा धेरै सम्पत्ति कमाउने र उज्यालो भविष्यको सपना देखेर खाडी मुलुकदेखि मलेशियासम्म पुगे तर त्यहाँको दुःखभन्दा आफ्नै माटोमा गरेको दुःखले सुखको सास फेर्न सकिने देखेर उनी मलेशियाको दुई वर्ष बिताएर नेपाल फर्किए ।

झिँवाखोलाकै विमल शाही एक वर्ष पहिला दुबईबाट फर्कएका हुन् । राम्रो कमाइ हुने आशामा दुबई पुगेका शाही एक वर्षमै गाउँ फर्केर बुढासँगै सामूहिक तरकारी खेतीमा लागेका छन् । विदेशमा धेरै दुःख भोगेका शाही र बुढाले गाउँमा फर्केर सरसल्लाह गरी गाउँमा नै केही उद्यम गर्ने सोच बनाए । बजारको राम्रो व्यवस्था रहेको र माटोमा गरेको मेहनतले प्रतिफल दिने देखेर उनीहरूले तरकारी खेती गर्ने सोचे ।

उनीहरूले बनाएको योजनालाई झिँवाखोलाकै अर्का युवा श्यामबहादुर शाहीले साथ दिएका छन् । विदेशमा गएर दुःख गरेको अनुभव नभए पनि श्यामले विदेशका दुःखको विषयमा सुनेका छन् । त्यसैले उनीहरू सबै मिलेर अहिले झिँवाखोलामा सामूहिक तरकारी खेती गरिरहेका छन् ।

पछिल्लो समय विदेश पलायन हुने युवाको घुइँचो देखिन्छ । कतिपय युवा विदेशमा गएर कमाइ गरिरहेका छन् भने कतिपय युवा हण्डर खाएर स्वदेश फर्किएका छन् । विदेशमा गरेको दुःख सम्झेर देशकै माटोमा भविष्य खोज्ने पनि छन् । त्यस्तै भविष्यको खोजीमा रहेका छन् झिँवाखोलाका तीन युवा । स्थानीयस्तरमा नै तरकारीको बजार रहेकाले सुविधा पनि हुने र कृषिमा आत्मनिर्भर बन्ने आफूहरूको चाहना पनि पूरा हुने भएकाले सामूहिक तरकारी खेतीमा लागेको बुढाले बताए ।

उनीहरूले निसीखोला कृषि फार्म दर्ता गरेर व्यवसाय शुरु गरेको एक वर्ष भयो । अहिले उनीहरूले तरकारी बारीमा सबैखाले तरकारी उत्पादन गरेका छन् । शुरुमा रु चार लाख लगानी गरेर स्थानीयको केही जमीन भाडामा र केही जमीन आफ्नै प्रयोग गरेका उनीहरूले लगानी बढाउने योजना बनाएका छन् । “तरकारीको उत्पादनले राम्रै उत्पादन हुने देखिएको छ, लगानी बढाएर मौसम र बेमौसमका तरकारी उत्पादन गर्दैछौँ”, बुढाले भने ।

तरकारीसँगै उनीहरूले गाउँलेका लागि तरकारीका बिरुवा उत्पादनसमेत गर्दै आएका छन् । गाउँमा आवश्यक बिरुवा आफ्नै फार्ममा उत्पादन गरेर गाउँलाई बिरुवामा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बुढाले बताए । “हामीले उत्पादन गरेको वस्तुले हाम्रो बजार पाउँछ”, बुढाले भने , “व्यवसायलाई अलि बृहत् तरिकाले सञ्चालन गर्न स्थानीय र केन्द्र सरकारबाट सहयोग र प्रोत्साहन पाए अझै राम्रो हुन्थ्यो ।”

नयाँ व्यवसाय भएकाले तत्कालका लागि मुनाफाको आशा नराखेको उनीहरूले बताए । व्यवसाय व्यवस्थित बनाएर महीनामा रु एक लाखदेखि दुई लाखसम्म खर्च कटाएर आम्दानी गर्ने लक्ष्य रहेको शाहीले बताए । मध्यपहाडी लोकमार्गले यहाँका अन्य कृषकले उत्पादन गरेको वस्तु बजारीकरणका लागि खासै समस्या छैन । स्थानीय सरकारले युवालाई कृषिलगायतका विषयमा विभिन्न खालका तालीम सञ्चालन गर्ने र युवालाई व्यावसायिकतर्फ आकर्षण गर्न विभिन्न योजना बनाए यस क्षेत्रका युवा स्वरोजगार बन्न सहज हुने उनीहरूको भनाइ छ । विदेशमा गरेको दुःखभन्दा आफ्नै माटोमा गरेको दुःखले छाक टरे आनन्दको अनुभूति हुने बुढाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button