कास्की-कुश्मा सडक खण्ड दैनिक साढे छ घण्टा बन्द

पोखरा न्यूज- २९, माघ ।

निर्माणाधीन मध्यपहाडी लोकमार्ग अन्तर्गतको कास्की-कुश्मा सडक खण्ड दैनिक साढे छ घण्टा बन्द हुने भएको छ ।

सडक विस्तारका लागि पर्वत र कास्कीको सिमाना नयाँ पुलदेखि कुश्मा नगरपालिका–१ अर्मादीसम्मको सडक खण्डमा बुधबारदेखि दैनिक साढे छ घण्टा बन्द गर्ने निर्णय भएको हो । बिहान १० बजेदेखि अपराह्न साढे २ बजेसम्म र अपराह्न १६ः३० बजेदेखि ७ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

लोकमार्गको डिमुवादेखि बेतनी बिचको माहुरी भिर, चुवाको भिर र अर्मादीको भिरमा सडक फराकिलो बनाउने काम गर्न सडक बन्द गर्न लागिएको उनले बताए । मध्यपहाडी सडक निर्माण आयोजनाअन्तर्गत लामा कन्ट्रक्सन प्रालिले उक्त खण्डमा निर्माणको काम तीव्र पारेको छ । “महभीर, चुवा र अर्मादीको भिरमा सडक फराकिलो बनाउन पहरा कटान गर्नुपर्ने भएकाले दैनिक साढे छ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको हो”, आयोजना प्रमुख आशिष थापा मगरले भने ।

त्यस्तै महभिरको वैकल्पिक मार्ग बनाउनका लागि मोदी गाउँपालिका र चुवामा वैकल्पिक मार्ग बनाउन कुश्मा नगरपालिका र तल्लो मोदी जलविद्युत् आयोजनासँग समन्वय गर्ने तयारीसमेत भएको छ । आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले रु ८३ करोड ९८ लाखमा सो खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ ।

अहिलेसम्म ३५ प्रतिशत काम सकिएको कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्दप्रसाद भुसालले जानकारी दिए । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button