पोखरा उद्योग वाणिज्य संघ अध्यक्षद्धारा कार्यसमितिमा ४ सदस्य मनोनित

बहुमत सदस्यहरुबाट लिखित असहमति

पोखरा न्यूज – २९, माघ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले विधानले दिएको अधिकार प्रयोग गर्दै ४ जना साधारण सदस्यहरुलाई कार्यसमितिमा मनोनयन गरेका छन् ।

अध्यक्षबाट मनोनित हुनेहरुमा त्रिएक इन्भेष्टमेण्ट कम्पनी प्रालिका ऐनकुमार साई, आँधिखोला मेडिकल हलका रामबहादुर केसी, दि कुटी रिसोर्ट प्रालिका देवेन्द्र केसी र प्रसिम एग्रो फार्महाउसका शिवराज आचार्य रहेका छन् । संघका अध्यक्ष अधिकारीले संघको विधानको धारा ६.१.१ (ड) ले दिएको अधिकार प्रयोग गरी ४ जना सदस्य मनोनित गरेका हुन् ।

मनोनयन सँगै संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले अध्यक्षको निर्णयले विधी र परम्परा मिचेको भन्दै अधिकांश सदस्यहरुले नोट अफ डिसेन्ट लेखेको बताए । उनका अनुसार नोट अफ डिसेन्टमा,‘संघको विधानको परिच्छेद ६.३.२ अनुसार बैठकमा छलफल हुनुपर्ने विषय तोकी एक दिन अगावै सूचना गर्नुपर्ने स्पष्ट प्रावधान भएकोमा मिति २०७५।१०।२८ गतेको बैठकमा एजेण्डामा नै नल्याइकन विविध विषयअन्तर्गत अध्यक्षज्यूले आफूमा निहित अधिकार हो भनी विधी र परम्परालाई लत्याउँदै पदाधिकारीको बैठक एवं कार्यसमितिको बैठकमा छलफल नै नगराई हचुवा र एकतर्फी ढंगबाट कार्यसमितिमा ४ जनालाई कार्यसमितिको सदस्यको रुपमा मनोनित गर्ने निर्णयप्रति विमति जनाइएको छ । संघका महासचिव अर्जुन पोखरेलका अनुसार ‘नोट अफ डिसेन्ट’ मा महासचिव स्वयंसहित संघका

उपाध्यक्ष नारायण कोइराला, उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदी,वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति, कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, उपमहासचिव चिनुकुमारी गुरुङ, कार्यसमितिका सदस्यहरु कुुमारी मुना बास्तोला, केशवबहादुर खत्री, दीनेशचन्द्र बास्तोला,बलराम आचार्य,ऋषिराज शर्मा भण्डारी, रामेश्वर अधिकारी, किर्तिबल्लभ त्रिपाठी,हर्कबहादुर अधिकारी, हरिहर सापकोटा र हरिराज पन्तसहित १६ जनाले हस्ताक्षर गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको हालको कार्यसमिति निवर्तमान अध्यक्षसहित २५ सदस्यीय रहेको छ ।

अध्यक्ष अधिकारीले भने आफुले विधानले दिएको अधिकारको प्रयोग गरि मनोनयन गरेको भन्दै बिरोधको कुनै तुक नभएको बताएका छन् । ‘अध्यक्षले गरेको मनोनयन मान्दिन भन्नु सस्थाको बिधान मान्दिन भन्नु जस्तै हो उहाँहरुको यो हामी बहुमतमा छौ भन्ने राजनीतिक दम्भ मात्र हो’ – अध्यक्ष अधिकारीले भने । आफुले सस्थाको विधानलाई सिरोपरी गर्दै विधानमै रहेर मनोनयनको निर्णय गरेको अधिकारीको भनाई छ ।

यसैगरी संघको कार्यसमितिको बैठकले मंगलबार दैनिक कार्य सम्पादनको लागि विभिन्न उपसमिति गठनका साथै संघको तर्फबाट संस्थागत प्रतिनिधित्व हुने सरकारी निकाय/ विभिन्न संघ संस्थाका लागि आधिकारिक प्रतिनिधि पनि चयन गरेको बताइएको छ । संघका महासचिव अर्जुन पोखरेलका अनुसार संघको रोजगारदाता उपसमितिको संयोजकमा संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापति र राजश्व उपसमिति संयोजकमा संघका उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी चयन भएका छन् भने तालीम व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी संघका उपमहासचिव चिनु गुरुङलाई जिम्मेवारी दिइएको छ ।

यता, बस्तुगत समन्वय उपसमिति संयोजकमा संघका कार्यसमिति सदस्य हरिराज पन्त, पर्यटन उपसमितिमा संघका कार्यसमिति सदस्य कृतिबल्लभ त्रिपाठी, कृषि उपसमिति संयोजकमा संघका कार्यसमिति सदस्य तारानाथ ढुंगाना र सूचना प्रविधी उपसमितिमा संघका कार्यसमिति सदस्य चिन्तामणि बास्तोला चयन भएका छन् । ती उपसमितिहरुलाई पूर्णता दिने जिम्मेवारी पनि संयोजकलाई नै प्रदान गरिएको महासचिव पोखरेलले बताए । यसअघि नै संघका महासचिव अर्जुन पोखरेलको संयोजकत्वमा प्रशासन र सदस्यता उपसमिति र कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छेको संयोजकत्वमा आर्थिक उपसमिति र कार्यसमिति सदस्य मुना बास्तोलाको संयोजकत्वमा महिला उद्यमी विकास उपसमिति गठन भईसकेको छ ।

\संघको संस्थागत प्रतिनिधित्वकालागि कन्या क्याम्पस व्यवस्थापन समितिको सदस्यमा संघका पूर्व अध्यक्ष दिपक श्रेष्ठ, पोखरा विश्वविद्यालयको सिनेटर सभामा संघका अध्यक्ष दामु अधिकारी, मातृशिशु मितेरी अस्पताल संचालक समितिमा संघका अध्यक्ष दामु अधिकारी, बालमन्दिर विद्यालय व्यवस्थापन समितिमा संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे, पोखरा महानगरपालिकाको राजश्व परामर्श समितिमा संघका अध्यक्ष दामु अधिकारी, जनप्रिय बहुमुखी क्याम्पस संचालक समितिमा संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइराला र पोखरा बहुमुखी क्याम्पस संचालक समितिमाकार्यसमिति सदस्य रामेश्वर अधिकारी तथा महेन्द्र मावि भलामको व्यवस्थापन समितिमा संघका कार्यसमिति सदस्य बलराम आचार्य र दीनेशचन्द्र बास्तोलाबाट प्रतिनिधित्व हुने व्यवस्था समेत गरेको छ ।

यसैगरी पोखरा उद्योग वाणिज्य संघको पहलमा स्थापना भएको पोखरा पर्यटन परीषदको पार्षदको रुपमा संघका अध्यक्ष दामु अधिकारी, वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी, वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापति र महासचिव अर्जुन पोखरेलबाट प्रतिनिधित्व समेत हुने व्यवस्था गरेको पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button