बागलुङमा शहीद र बेपत्ताका परिवारजन सम्मानित

पोखरा न्यूज- ०१ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले जनयुद्धका शहीद र बेपत्ताका परिवारजनलाई सम्मान गरेको छ । चौबीसौँ जनयुद्ध दिवसका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान प्रदान गरिएको हो ।

बागलुङ नगरपालिका–३ का शहीद डिल्लीप्रसाद शर्माकी श्रीमती सरस्वती, वडा नं ७ का दीपक विकका बुबा गौरीशङ्कर, काठेखोला गाउँपालिका बिहुँका चेतराम कँडेलकी श्रीमती जमुना, पालाका रोशन थापाका भाइ प्रकाश सम्मानित भएका हुन् ।

यस्तै वडा नं १२ अमलाचौरका गणेश ढकालकी आमा प्रभा, सूर्य नेपालीकी आमा मनकुमारी, इन्द्रप्रसाद शर्माकी श्रीमती मीना, तिलक चापागाईंकी छोरी पुष्पा र वडा नं ९ की विमला किसानकी आमा दीपमायालाई सम्मान गरिएको हो ।

बेपत्तातर्फ वडा नं २ का सूर्यप्रसाद शर्माकी श्रीमती जशोदा, वडा नं ७ का सूर्य विककी आमा मैना, सोही ठाउँकी गोरी, प्रमिला र दिलमाया विकका छोराभाइ श्याम सम्मानित भएका हुन् । सम्मानित व्यक्तित्वलाई नेकपा गण्डकी प्रदेशका सचिव गोविन्द नेपाली र जिल्ला संयन्त्रका सदस्य ज्ञामनाथ गैरेले संयुक्तरुपमा दोसल्ला र अबिर प्रदान गरेका थिए ।

गण्डकी प्रदेशसभाका सदस्य एवं नेकपाका नेता इन्द्रलाल सापकोटाले देश बनाउन कम्युनिष्ट नेता तथा कार्यकर्ताले नयाँ अठोट लिनुपर्ने धारणा राखे । “भाषणले समाजवाद आउँदैन”, उनले भने, “हामी सबै अब उत्पादन प्रणालीमा जोडिन आवश्यक छ ।” नेकपा गण्डकी प्रदेशका सचिव नेपालीले जनयुद्ध र जनआन्दोलनको जगमा आजको परिवर्तन सम्भव भएको विचार राखे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button