पोखरा म्याराथनलाई सफल पार्न विदेशबाट १६ लाख सहयोग प्राप्त

'गत संस्करण भन्दा यसपटक बढी उत्साहित छौँ'-अध्यक्ष गुरुङ

डिएनबी, पोखरा न्यूज- ०२ फागुन ।

यही फागुन ७ गते पोखरामा हुने सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न विदेशबाट करिब १६ लाख रुपैया आर्थिक संकलन भएको छ । पोखरामा हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” लाई सफल पार्न हालसम्म विदेशबाट १५ लाख ९७ हजार रुपैया सहयोग प्राप्त भएको भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले बताए ।

प्रतियोगिता सफल पार्न पोखरेली मञ्च युकेबाट ७ लाख ५० हजार, हङकङबासी नेपालीहरुबाट ५ लाख ४७ हजार, अमेरिका स्थित बोष्टन र न्यू ह्याम्पशायरलाई आफ्नो कर्म क्षेत्र बनाएर बस्दै आएका नेपालीहरुले ३ लाख रुपैया सहयोग गरेका हुन् । प्रतियोगिता सम्पन्न गर्न २३ लाख खर्च लाग्ने भएको मञ्चले जनाएको छ ।

उक्त प्रतियोगिताको अवसरमा हालसम्म २८ लाख रुपैया स्वदेश तथा विदेशबाट संकलन भएको अध्यक्ष गुरुङले जनाए । गण्डकी प्रदेश सरकारले उक्त प्रतियोगितालाई सफल पार्न २ लाख रुपैया आर्थिक सहयोग गरेको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ उक्त प्रतियोगिताका प्रमुख संरक्षकमा रहेका छन भने संरक्षकमा भने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी रहेका छन्।

यसैबिच बिहिबार नेपाल पत्रकार महासंघ कास्कीका पत्रकारहरुसंगको छलफलमा अध्यक्ष गुरुङ प्रतियोगिताको तयारी बारे जानकारी गराउदै यस पालीको प्रतियोगितामा आफुहरु बढी उत्साहित भएको जनाए । प्रतियोगितालाई सफल पार्न २६ वटा उपसमिति बनाउर तयारी तीव्र पारेको जनाउदै हालसम्म ३ सय ५७ वटा संघ संस्थासंग समन्वय गरी अघि बढेकाले थप उत्साहिक भएको बताए । प्रतियोगिताले पोखरा महानगरपालिकाका १७ वटा वडाहरुलाई छुने बताउदै अध्यक्ष गुरुङले वडा अध्यक्षहरुले प्रतियोगिताको तयारीको लागि सहयोग गरेको उल्लेख गरे ।

प्रतियोगितामा जापान, चाईन, फ्रान्स सहितका युरोपका समेत धावकहरु सहभागि हुने भएको उनले जनाए । म्याराथनको ४२ किलोमिटरको दुरीलाई १२ भागमा बिभाजन गरी एम्बुलेन्स सहितको स्वयम सेवकको राम्रो प्रबन्ध मिलाएको अध्यक्ष गुरुङले बताए । मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले यसपाली प्रविधि मैत्रि प्रतियोगिता हुने तयारी भएको जनाए । छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष नारायण कार्कीै, पुण्यप्रसाद पौडेल, प्रचार प्रसार समितिका संयोजक केशव पाठक लगायतले प्रतियोगितालाई सफल पार्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने जनाए ।

म्याराथन सहितको विभिन्न प्रतियोगितामा सहभागि हुन खेलाडीहरुले आफ्नो नाम दर्ता गराउन सुरु भएको अध्यक्ष गुरुङले जनाए । म्याराथन ४२.१९५ किलोमिटर दौड हुने भएको छ । सफल दुधको मुख्य प्रयोजनमा संचालन हुने उक्त प्रतियोगिताको विजेतालाई एक लाख, उपविजेतालाई ७० हजार, तेश्रो हुनेलाई ५० हजार पुरस्कार प्रदान गरिने भएको छ ।

१० किलोमिटर सडक दौडमा विजेतालाई १५ हजार उपविजेतालाइ १० हजार, १६ बर्ष मुनिका बिद्यालय स्तरिय दौडमा विजेता छात्र-छात्रालाई जनही १० हजार, उपविजेतालाई ७ हजार, ह्विल चियर पुरुष तर्फ ४ सय मिटर र महिला तर्फ एक सय मिटर दौड हुदैछ। त्यसै गरी रनफर रनमा हजारौं धावकहरुलाई सहभागि गराउने तयारी भएको मञ्चले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button