बागलुङमा प्रथम बलेवा महोत्सव शुरु

पोखरा न्यूज- ०३ फागुन ।

बागलुङको बलेवामा बिहीबारदेखि प्रथम बलेवा महोत्सव शुरु भएको छ । कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनको लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले पहिलो बलेवा महोत्सव आयोजना भएको हो ।

दश वर्ष पहिलेदेखि सञ्चालनमा रहेको कृष्ण गण्डकी क्याम्पसमा रहेको आर्थिक सङ्कट कम गर्न महोत्सवको मञ्च प्रयोग गरेर सहयोग सङ्कलन गरिने र त्यसबाट रु एक करोडको अक्षयकोष स्थापना गरिने आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले जानकारी दिए । महोत्सवमा बलेवा क्षेत्रको पर्यटनलाई प्राथमिकतामा राखिएको छ । बलेवा क्षेत्रमा पर्ने साविकका चार गाउँ विकास समितिमा प्रत्येक वर्ष पालैपालो महोत्सव गर्ने गरी पहिलोपटक नारायणस्थानमा महोत्सव आयोजन भएको हो ।

प्रसिद्ध कालभैरव, मनमोहक मुलाबारी क्षेत्र, नेपालकै अग्लो कुश्माकैया झोलुङ्गे पुल र यान्त्रिक पुललगायतका पर्यटकीय क्षेत्रमा दर्शक पुर्याउने गरी व्यवस्था मिलाइएको पौडेलले बताए । महोत्सवको उद्घाटनमा उद्योग वाणिज्य महासङ्घ नेपालका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहमा आर्थिक गतिविधि सञ्चालनका लागि वडास्तरमा बैंक तथा वित्तीय संस्थाको पहुँच हुनुपर्ने र शाखारहित सेवामार्फत बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्याउनुपर्नेमा जोड दिए । गण्डकी प्रदेशमा सम्भावना रहेका कृषि, पर्यटन, उद्योग तथा अन्य जुनसुकै क्षेत्रमा आफू लगानी गर्न तयार रहेको भन्दै ढकालले त्यसका लागि सहकार्य आवश्यक हुने बताए ।

बलेवामा केवरकार सञ्चालन गर्न सकिने सम्भावना रहेको भन्दै ढकालले सञ्चालनपछिको उपलब्धि मूल्याङ्कन गरेर मात्रै लगानी गर्न सकिने बताए । बलेवाको विकासका लागि सबै क्षेत्रलाई सहकार्य गर्न आग्रह गर्दै उहाँले शैक्षिक उन्नयनका लागि आयोजना भएको महोत्सवको प्रशंसा गरे ।

बलेवामा सफल परीक्षण भइसकेको प्याराग्लाइडिङलाई व्यावसायिकरूपमा सञ्चालन गर्न ढकालले सुझाव दिए । अबको विकास गाउँ केन्द्रीत हुनुपर्ने भन्दै ढकालले त्यसका लागि सरकारी र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आर्थिक क्षेत्रको विकासका लागि सबैको साझा धारणा हुनुपर्नेमा जोड दिए । आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा व्यापारिक, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, प्याराग्लाइडिङमार्फत बलेवा क्षेत्रको अवलोकनलगायतको व्यवस्था आयोजकले मिलाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button