पुम्दीमा बन्यो ५५ लाखको लागतमा पर्खाल सहितको खेल मैदान

डिएनबी, पोखरा न्यूज- ०३ फागुन ।

पोखरा महानगरपालिका  – २२ पुम्दी भुम्दी स्थित भगवती आधारभुत विद्यालयको पर्खाल तथा खेल मैदानको  शुक्रबार एक समारोहका बिच गण्डकी प्रदेश सांसद राजिव पहारी, सुजरल्याण्डका व्याक वारेन वाउट लेटका वेरटो विट डुन्कीले उद्घाटन गरेका छन् । गत माघमा करिब १८ लाखको लागतमा पर्खाल लगाउदै गर्दा एकाएक पर्खाल भत्किएकोमा ५५ लाख ५२ हजार ७ सय १२ रुपैयाको लागतमा पुनः निर्माण गरिएको पर्खालसहितको खेल मैदानको शुक्रबार उद्घाटन गरिएको हो ।

उक्त योजना सफल पार्न पोखरा महानगरपालिकाबाट २० लाख, सुइजरल्याण्डबाट १३ लाख ६९ हजार ६ सय ४८, राईट फर चिल्ड्रेनबाट १२ लाख ९२ हजार ४३ रुपैया आर्थिक सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र गुरुङले बताए  । स्थानिय रविन्द्र गुरुङको समन्वयमा सुजरल्याण्डका वेरटो, ब्याक वारेन आउटलेटको तर्फबाट उर्सुला मोसार, सुजरल्याण्डकै मार्सोल मुलर बशेल र सुजरल्याण्डको कि वानीज क्लव रिचेनले बिद्यालयलाई सहयोग गरेका हुन्।

त्यसै गरी उक्त योजना सफल पार्न पोखरा महानगरपालिका वडा नम्बर २२ को कार्यालय, बुद्ध फाउण्डेसन जापान, अष्ट्रेलियाको सेन्ट्रल क्विन्सल्याण्ड विश्वबिद्यालय, हालाभाङ हङकङ समाज, साउथ कोरियाको युहान विश्वविद्यालय, बेलायतको कालाभाङ घडेरी समाज, रोटरी क्लव अफ पोखरा, जिल्ला शिक्षा कार्यालय, बेलायतका जुम बहादुर गुरुङ लगायतको सहयोग रहेको अध्यक्ष गुरुङले बताए ।

विद्यालयमा हाल नर्सरी देखि कक्षा ८ सम्म गरी १ सय १७ जना विद्यार्थीहरु रहेको उनले जनाए । विद्यालयको गुणस्तरको लागि ७ जना शिक्षकलाई निजी श्रोतबाट आफुहरुले खर्च जुटाउदै आएको अध्यक्ष गुरुङले बताए । विद्यालयमा स्वदेशी तथा विदेशी लगानीबाट पर्खाल निमार्णसँगै खेल मैदान निर्माण भएको छ । ५६ मिटरको उचाईमा ६० मिटरको लम्वाई र २२ मिटरको चौडाईमा खेल मैदान निर्माण भएको अध्यक्ष गुरुङले जनाए ।

गाँउ टोलमा विद्यालय नै नरहने शिक्षा नीतिविरुद्ध आवाज उठाउछु: सांसद पहारी

उद्घाटन कर्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद राजिव पहारीले कुनै गाँउ टोल विद्यालयनै नरहने गरी शिक्षा नीति आउने हल्ला चलेको भन्दै त्यस्तो  शिक्षा नीतिविरुद्ध आफुले संसदमा आवाज उठाउने बताएका छन् ।

केहि समय अघि पोखरा २२ को शुक्रराज माविको स्वर्ण महोत्सवको अवसरमा गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले न्यूनतम २ सय विद्यार्थी नभएका विद्यालयहरुलाई खारेज गर्ने भनि दिएको अभिव्यक्तिले पोखरा २२ का पुम्दी-भुम्दीवासीहरु आफ्नो गाँउ टोलमै रहेको विद्यालय बिस्थापित हुने भन्दै चिन्तित भएका वेला अर्का सांसद पहारीले शुक्रबार भगवती आधारभुत विद्यालयको पर्खाल तथा खेल मैदान उद्घाटनको अवसरमा बोल्दै उक्त कुरा बताएका हुन् ।

उनले भने “म तपाईहरुको निर्वाचित जनप्रतिनिधि हुँ, विद्यालय मर्ज गर्ने नाममा भगवती विद्यालय जस्ता विद्यालयलाई कुनै पनि हालतमा खारेज वा मर्जमा लैजान आवश्यक छैन्, यदि २ सय बिद्यार्थी नभएका विद्यालय खारेज गर्ने नीति आउन लागेमा त्यसको पहिलो बिरोध म गर्छु, कुनै पनि हालतमा कार्यान्वयन गर्न दिईदैन ।” गण्डकी प्रदेशको शिक्षा नीति गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पार्दैछ । उनले भने “विद्यार्थी बिस्तारै बढ्दै गएका विद्यालयमा सरकारले विशेष अनुदान दिनु पर्छ , त्यो दिलाउने तर्फ म लाग्ने नै छु, जस्तो सुकै कुर्वानी गर्न तयार छु तर भगवती जस्ता गुणस्तरीय विद्यालय खारेज हुदैनन्। ”

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बराल, शुक्रराज माविका पुर्व अध्यक्ष दुर्गा बहादुर गुरुङ, विद्यालयका प्रध्यानाध्यापक डिल कुमारी गुरुङ, विद्यालयका पुर्व अध्यक्ष बलमान गुरुङ (यामयाम), युके समाजका श्रीचन्द्र गुरुङ, अक्षयकोषदाता असोक कुमार गुरुङ, महेश्वरी माविका प्राध्यानाध्यापक कुलदेवी बराललगायतले गण्डकी प्रदेश सरकारले गुणस्तरिय र सहज ढंगले अध्ययन गर्ने वातावरणकोे शिक्षा नीति ल्याउनु पर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. कस्तो खालकाे समचार दिनु हुन्छ हाे खाेई खेल मैदान ,पर्खाल काे फाेटाे?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button