आहा रारा गोल्ड कपमा २ विदेशी सहित १० टिम सहभागी हुने

डिएनबी, पोखरा न्यूज- ०३ फागुन ।

नेपालको प्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ मा १० टिम सहभागि हुने भएका छन् । यही फागुन ९ गते देखि पोखरा रंगशालामा सुरु हुने १७ औं संस्करणको उक्त प्रतियोगितामा २ विदेशी सहित १० टिमको सहभागिता हुने भएको आयोजक सहारा क्लबले जनाएको छ ।

प्रतियोगितामा विदेशी दुई टिम क्यामरुनको डफिन्स टिम फेम्ली फुटबल क्लब र भारतको सिक्किम युनाईटेड क्लब, नेपालका तीन विभागिय टिम सशस्त्र प्रहरी बलको ए.पि.एफ.क्लब त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब, लिग विजेता मनाङ्ग मर्याङ्गदी क्लब, नेपालका चर्चित क्लबहरु थ्रिस्टार क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब र आयोजक सहारा क्लब पोखरा सहभागि हुने भएका छन् ।

एन्फाको कारण यस पटक प्रतियोगिताको अवधि १० दिनमा खुम्चिदा १० वटा मात्र टिमको सहभागिता हुने भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । क्याराभान गोल्ड कप सहित १७ औं संस्करणको फुटवल प्रतियोगिता गर्दासम्म १२ टिम रहेकोमा यस बर्ष भने १० टिमको मात्र सहभागिता हुने भएको हो । छैंटौं मनकामना केबलकार पोखरा कपको विजेता क्यामरुनको डफिन्स टिम फेम्ली फुटबल क्लब दुई साता नवित्दै अर्को प्रतियोगितामा सहभागि हुने भएको हो ।

प्रतियोगितामा विजेताले उपाधि सहित ८ लाख एक हजार र उपविजेताले  ४ लाख एक हजार साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । गत बर्षको तुलनामा यस बर्ष विजेतालाई एक लाख र उपबिजेतालाई ५० हजार पुरस्कार राषिमा वृद्धि गरिएको हो ।प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतियोगिताको अवधिमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट एक जनालाइ नगद ३५ हजारको साथमा सम्मान गनिरे भएको क्लबले जनाएको छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो ।  यस अघि माघ २९ देखि फागुन ११ गतेसम्म आहा रारा गोल्ड कप हुने भनि एन्फा केन्द्रले खेल तालिका सार्वजनीक गरेको थियो । पोखरामा अर्काे फुटवल प्रतियोगिता एकै समयमा दुई दिनको अन्तरालमा हुने भए पछि क्लवले पुनः अर्को मितिमा उक्त प्रतियोगिता संचालनको लागि मिति माग गरेको थियो । मनकामना केबलकार पोखरा कप २०७५ यही माघ १५ देखि २७ गतेसम्म पोखरामा सम्पन्न भएको छ । गत बर्षको विजेता नेपाल पुलिस क्लब हो ।

“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ पोखरा रंगशालामा १० दिनसम्म चल्ने प्रतियोगिताबाट १ करोड ३० लाख एक हजार आम्दानी गर्ने लक्ष्य राखिएको क्लबका महासचिव विश्वराज बरालले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ९७ लाख ९८ हजार लाग्ने भएको छ भने प्रतियोगिताबाट ३२ लाख २ हजार रुपैया बचत गरिने लक्ष्य राखिएको छ । बचत रकमलाई क्लवले कठिन परिस्थिति एवं विपन्नबर्गका वालकहरु सम्मेलित सहारा फुटवल एकेडेमीमा लगानी हुने भएको बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङले बताए । हाल तेश्रो व्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button