गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ

पोखरा न्यूज-०५ , फागुन ।

भूकम्पले क्षति पुर्याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । पुनःनिर्माणको काम शुरु भएको करीब १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न सकेको छैन् । पुरातत्व विभागले २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो ।

पुनःनिर्माणको काम शुरु भएदेखि अहिलेसम्म पटक–पटक कहिले कामदारको अभाव त कहिले सामान दुवानीको समस्यालगायतका कारण देखाउँदै काम रोकिने गरेको छ । “अहिलेसम्म दरबारको जगबाहेक अरु काम अघि बढेको छैन”, गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले भने , “अब केही दिनमा काठको थाम राख्ने काम शुरु हुन्छ भनेका छन् ।” अहिले दरबारका लागि नापअनुसारको काठ अभाव भएको जानकारी आफूलाई ठेकेदार कम्पनीका प्रतिनिधिले दिएको उनले जानकारी दिए ।

पुनःनिर्माणका लागि दरबार भत्काउने बेलादेखि नै कामदार आउने र काम छाडेर जाने गरेकाले पनि निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । निमित्त प्रमुख कट्टेलले प्राविधिक अनुगमन प्रभावकारी हुन नसक्दा ठेकेदारले काममा ढिलासुस्ती गरेको बताए । ठाउँ अभावका कारण निर्माण सामग्री ल्याएर राख्नसमेत समस्या भएको र निर्माण सामग्री कमी हुँदा एकैपटक सबै कामदारलाई काम लगाउन नसकिएकाले ढिलाइ भएको जानकारी ठेकेदार कम्पनीका प्रतिनिधिले दिएको उनले बताए ।

जग निर्माणकै क्रममा दरबारको पूर्वी इसान भागमा राजगद्दीभन्दा केही पछि रहेको ढुङ्गामा लकासी राख्न मिल्ने या नमिल्ने भन्ने अन्योलता रहेको उनले बताए । पुरातत्व विभागले २०७६ पुसभित्रमा दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी सिवाको जेभी कन्सट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन राजा राम शाहको पालामा विसं १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार करीब रु चार करोड ३७ लाख लागतमा पुनःनिर्माण शुरु गरिएको हो ।

नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पुर्याएका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपूर्ण ऐतिहासिकस्थल मानिन्छ । गोरखा सदरमुकामभन्दा माथि पहाडको टुप्पामा रहेको यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ भने गोरखकाली मन्दिरको मुनितिर गुफामा गोरखनाथको मन्दिरसमेत रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button