पर्वतमा प्याराग्लाइडिङको सफल परीक्षण

पोखरा न्यूज-०५ , फागुन ।

दक्षिण पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ ।

बिहादी गाउँपालिका–५ को लुम्राङको डाँडामा प्याराग्लाइडिङको उडान सफल भएको हो । उरामको गेप्ताङस्थित मगर बस्तीमा रहेको गेप्ताङ सामुदायिक घरबास (होमस्टे)ले आयोजना गरेको गाउँ पर्यटन प्रवर्द्धन कार्यक्रमको अवसरमा प्याराग्लाइडिङ उडान गरिएको हो ।

पोखराको सराङकोटमा प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका विवेक राना र गोले लामाको नेतृत्वमा विपीन परियार, रमेश नेपाली, विक्रम नेपाली र सत्या राईले विहादी गाउँपालिकाको आकाशमा प्याराग्लाइडिङ उडाएका हुन् ।

परीक्षण उडानपछि विपीन परियारले लुम्राङ र देउरालीडाँडा प्याराग्लाइडिङ उडान गर्नका लागि र रानीपानीमा रहेको इमिचौर अवतरण गर्नका लागि उत्तम स्थान रहेको बताए । आवश्यक पूर्वाधार सडक, धावनमार्गको व्यवस्थित विकास गर्न सकेमा व्यावसायिक रूपमा यस स्थानमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने चालक रमेश नेपालीले बताए ।

प्याराग्लाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै बिहादीलाई समृद्धिको पथमा हिँडाउने लक्ष्यका साथ परीक्षण उडान गरिएको गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषालले बताए । सफल उडानअघि धावनमार्ग र अवतरणस्थलका बारेमा सम्भाव्यता अध्ययन गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button