आहा रारा गोल्ड कपको सम्पूर्ण तयारी पुरा

उद्घाटन खेल एपिएफ विरुद्ध सहारा क्लब

डिएनबी, पोखरा न्यूज – ०७, फागुन ।

नेपालको प्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ को सम्पूर्ण तयारी पुरा भएको छ ।

यही फागुन ९ गते देखि पोखरा रंगशालामा सुरु हुने १७ औं संस्करणको उक्त प्रतियोगिताको अन्तिम तयारी पुरा भएको सहारा क्लबले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।  बिहिबार हुने उद्घाटन खेलमा सशस्त्र प्रहरी बलको एपिएफ बिरुद्ध आयोेजक सहारा क्लबबिच खेल हुने भएको छ । प्रतियोगितामा यस पाली दुई विदेशी सहित १० टिम सहभागि हुने भएको क्लब अध्यक्ष केशव बहादुर थापाले बताए ।

एन्फाले आफुहरुलाई १० दिनको मात्र समय सिमा दिएकोले आफुहरुले बाध्य भएर १२ दिनको खेल १२ टिम सहभागि हुने पर्नेमा १० दिनमा १० टिम सहभागि गराउने भएको अध्यक्ष थापाले जनाए । क्याराभान गोल्ड कप सहित १७ औं संस्करणको फुटबल प्रतियोगिता गर्दासम्म १२ टिम रहेकोमा यस बर्ष भने १० टिमको मात्र सहभागिता हुने भएको हो । छैंटौं मनकामना केबलकार पोखरा कपको विजेता क्यामरुन डफिन्स टिम फेम्ली फुटबल क्लब दुई साता नवित्दै अर्को प्रतियोगितामा सहभागि हुने भएको हो ।

प्रतियोगितामा विदेशी दुई टिम क्यामरुनको डफिन्स टिम फेम्ली फुटबल क्लब र भारतको सिक्किम युनाईटेड क्लब, नेपालका तीन विभागिय टिम सशस्त्र प्रहरी बलको ए.पि.एफ.क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब, लिग विजेता मनाङ्ग मर्याङ्गदी क्लब, नेपालका चर्चित क्लबहरु थ्रिस्टार क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब र आयोजक सहारा क्लब पोखरा सहभागि हुने भएका छन्।

प्रतियोगितामा विजेताले उपाधि सहित ८ लाख एक हजार र उपविजेताले भने ४ लाख एक हजारक साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । गत बर्षको तुलनामा यस बर्ष विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार पुरस्कार राशीमा बृद्धि गरिएको हो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिताको अवधिमा सर्वोउत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट एक जनालाइ नगद ३५ हजारको साथमा सम्मान गनिरे भएको क्लबले जनाएको छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । गत बर्षको विजेता नेपाल पुलिस क्लब हो । मनकामना केबलकार पोखरा कप २०७५ यही माघ १५ देखि २७ गतेसम्म पोखरामा सम्पन्न भएको थियो ।

“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ पोखरा रंगशालामा १० दिनसम्म चल्ने प्रतियोगिताबाट १ करोड ३० लाख एक हजार आम्दानी गर्ने लक्ष्य राखिएको क्लबका सचिव राम्जी प्रसाद अधिकारीले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ९७ लाख ९८ हजार लाग्ने भएको छ भने प्रतियोगिताबाट ३२ लाख २ हजार रुपैया बचत गरिने लक्ष्य राखिएको छ । बचत रकमलाई क्लबले कठिन परिस्थिति एवं विपन्न बर्गका बालकहरु सम्मेलित सहारा फुटबल एकेडेमीमा लगानी गर्दै आएको छ। हाल तेश्रो व्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन् ।

प्रि-क्वाटरका दुई खेल अवलोकनको लागि प्रति व्यक्ति ८०, क्वाटरफाईनलका ४ खेलको लागि एक सय र सेमिफाईनलको दुई खेलको लागि एक सय पचास र फाईनलको लागि दुई सय रुपैया शुल्क निर्धारण गरिएको क्लबले जनाएको छ । सहारा क्लबले सामाजिक कार्यसंगै फुटबल एकेडेमी संचालन गरेकोले आफुहरुले प्रायोजनकको रुपमा निरन्तरता दिदै आएको संघिय सांसद तथा हिमश्रीफुड्स प्रालिका अध्यक्ष सुर्य बहादुर केसीले बताए । उपविजेताको नगद पुरस्कार प्रायोजन असु एजुकेशन कन्सेल्टेन्सीले गरेको छ भने उत्कृष्ट खेलाडीलाई प्रदान गरिने एक थान अप्रिला स्कुटर डी लाईफस्टाईल्स प्रालि, काठमाण्डौंले गरेको छ ।

पृथ्बी राजमार्ग बस संचालक समितिले उत्कृष्ट पाँच विधाको पुरस्कार प्रायोजन गरेको छ । पाँच विधामा जनही १५ हजार पुरस्कार प्रदान गरिने भएको छ । सनराईज ड्राईभिङ स्कुल प्रा.लि.बाट सर्वाधिक गोलकर्ताको खेलाडी पुरस्कार २५ हजार प्रदान गरिने भएको छ । क्लबले यस बर्ष पनि सहभागि टिमलाई म्याच मनि दिने भएको छ । प्रिक्वाटर विजेतालाई २० हजार, पराजित भएकोलाई १० हजार, क्वाटरको विजेतालाई ३० हजार पराजित टिमलाई २० हजार, सेमिफाईनल विजेता र पराजित हुदैलाई ५० हजार प्रदान गनिरे भएको छ । क्लबले यस बर्ष पनि टिकट काटेर फुटबल अवलोकन गर्न गएका दर्शकलाई एक लाख मुल्य बराबरको रारा तयारी चाउचाउ निशुल्क रुपमा वितरण गर्ने भएकोे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button