तनहुँमा पर्यटक आकर्षित गर्न वनभोज स्थल निर्माण

पोखरा न्यूज- ८, फागुन ।

सरकारबाट १०० नयाँ गन्तव्यका रुपमा घोषणा भएको तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कमा वनभोजस्थल निर्माण सम्पन्न भएको छ ।

पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्दै पर्यटक आकर्षित गर्ने उद्देश्यसहित पार्कले रु १६ लाखको लागतमा वनभोजस्थल निर्माण गरेको हो । पार्कका कोषाध्यक्ष एकबहादुर रानाले पार्कभित्र दुई वटा भवनसहित वनभोजस्थल निर्माण सम्पन्न गरिएको जानकारी दिए । उनका अनुसार वनभोजमा आउने पर्यटकको सुविधाका लागि खानेपानीको व्यवस्थासमेत गरिएको छ भने शौचालयसमेत निर्माण गरिएको छ । “सरकारले १०० नयाँ गन्तव्यका रुपमा पार्कलाई घोषणा गरेपछि यसको प्रचारप्रसार हुनेमा आशावादी छौँ’, रानाले भने, “पर्यटकलाई आकर्षित गर्नका लागि पूर्वाधार निर्माण गरेका हौँ ।”

रानाका अनुसार १६ घनमिटर क्षमताको ट्याङ्की निर्माण गरेर लिफ्ट प्रणालीमार्फत ट्याङ्कीमा पानी सङ्कलन गरी वितरणको व्यवस्था मिलाइएको छ । सदरमुकाम दमौलीबाट नजिकै डाँडामा रहेको सो स्थानसम्म पुग्नका लागि कच्ची बाटो समेत सुधार गरिएको छ । “वनभोज स्थलसम्म पुग्ने बाटो सुधार गरेका छौँ’, उनले भने, “सवारीसाधन सहजै पुग्ने भएकाले ढुवानी गर्नसमेत सहज छ ।”

पार्कमा वनभोज खानका लागि आन्तरिक पर्यटकको आवागमन शुरु भइसकेको बताइएको छ । केही दिन अघि मात्रै गोरखा जिल्लाबाट एक टोली वनभोजका लागि पार्कमा आएको थियो । वनभोजस्थल प्रयोग गरेबापत अहिले शुल्क निर्धारण नगरिएको भए पनि छिट्टै समितिको बैठक बसेर निश्चित शुल्क निर्धारण गरिने रानाले जानकारी दिए।

सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र शहीद शान्ति पार्क रहेको छ ।

पार्कभित्र कलात्मक शैलीमा निर्माण गरिएको मन्दिरको ७५ प्रतिशत काम पूरा भएको छ । मन्दिरको सजावटको काम बाँकी रहेको छ भने गजुर र तामाको पाता राख्ने तयारी गरिएको छ । सो ठाउँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोटलगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिने पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठले जानकारी दिए ।

पार्कको बृहत्तर विकासका लागि गुरुयोजनासमेत बनाइएको छ । गुरुयोजनाले पार्कलाई पाँच भागमा विभाजन गरी त्यसभित्र बन्ने संरचनालाई समावेश गरेको छ । जसअनुसार पहिलो भागमा प्रवेशद्वार, टिकट काउण्टर, पार्किङस्थल, शौचालय, प्रतिक्षालय निर्माण गरिनेछ ।

दोस्रो भागमा शहीद स्मारक पार्क, तेस्रो भागमा बालउद्यान, पानीको फोहोरा, सानो चिडियाघर, चौथो भागमा मन्दिर परिसर, दृश्यावलोकन स्तम्भ, शौचालय, विश्रामस्थल र पाँचौँ भागमा वनभोजस्थल, खानेपानी व्यवस्थापन, मनोरञ्जनस्थल निर्माण गरिनेछ । गुरुयोजनाअनुसार मन्दिरबाहेकको अन्य संरचना निर्माणमा करीब रु चार करोड ८५ लाख १५ हजार बजेट आवश्यक पर्ने पार्कले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button