बागलुङको पञ्चकोटमा पर्यटक लक्षित महायज्ञ शुरु

पोखरा न्यूज- ०९ फागुन ।

एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आजदेखि पाँचौँ महायज्ञ शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले महायज्ञको शुरुआत गरे । पञ्चकोटको विकासका लागि प्रत्येक वर्ष महायज्ञ आयोजना गरिँदै आएको छ ।

बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रुपमा विकास भइसकेको पञ्चकोटमा अहिले दैनिक सयौँ पर्यटक आउने गरेका छन् । नेपाल सरकारले समेत पञ्चकोटलाई पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरिसकेको छ ।

स्वामी कमलनयन आचार्य (मुक्तिनाथ बाबा)को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि आर्थिक सङ्कलन गर्न पाँचौँ महायज्ञ गरिएकोे विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटले जनाएको छ । १०८ फिट अग्लो विश्वशान्ति कलश तथा अन्य धार्मिक पूर्वाधार निर्माणका लागि २०७१ साल फागनु ९ गते तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइराला र तत्कालिन नेकपा(एमाले)का नेता केपी शर्मा ओलीले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

शिलान्यास भएको फागुन ९ गते पारेर प्रत्येक वर्ष पञ्चकोटमा महायज्ञ आयोजनाको शुरु हुने गरेको छ । फागुन १५ गते सम्म चल्ने पाँचौ धनधान्याञ्चल विराट श्रीमहायज्ञ अवधीभर भूमि पुजन, श्रीमद्भागवत पाठ पारायण, प्रबचन लगाएतका कार्य हुने छन् ।

तीन वर्षदेखि निर्माणाधीन पञ्चकोटमा झन्डै रु २० करोडका संरचना निर्माण भइसकेका छन् भने मुख्य संरचनाका रुपमा निर्माण हुने विश्वशान्ति कलश निर्माणका लागि रु ६० करोड लागत लाग्ने बताइएको छ । महायज्ञमा सहयोगी दाताले प्रदान गर्ने रकमका आधारमा संस्थापक सदस्यता प्रदान गर्नेछ ।

महायज्ञमा संकलित रकम तथा दाताकैै भरमा करोडौका संरचना निर्माण भइरहेकोे पञ्चकोट पुग्ने जो कोही पर्यटक मोहीत हुने गरेका छन् । बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलश निर्माण गरिने लक्ष्य रहेको छ ।

कलश निर्माण गर्नका लागि मात्र रु ६० करोड खर्च हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ । अग्लो कलश राखिने स्थान बागलुङ नगरपालिका–६ स्थित पञ्चकोट साविक धौलागिरिका अधिकांश स्थानहरुबाट समेत देख्न सकिन्छ । यहाँका सबै पूर्वाधार निर्माणका लागि झन्डै साढे २ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button