मुक्तिनाथमा स्की खेलको प्रशिक्षण

पोखरा न्यूज – १२, फागुन ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा जमेको हिउँमा खेलिने स्की खेलको प्रशिक्षण शुरु भएको छ । निरन्तरको हिमपातपछि मुस्ताङको मुक्तिनाथ क्षेत्रमा जमेको हिउँमा स्कीको प्रशिक्षण शुरु गरिएको हो ।

स्की खेलप्रति स्थानीयको उत्साह र चासो बढेकाले हिमालय स्की ट्रेक र होटल ग्राण्ड साव्वालको संयुक्त आयोजनामा स्की खेलको प्रशिक्षण शुरु गरिएको प्रशिक्षक सुरज गुरुङले जानकारी दिए ।

हिउँभित्र छिर्न नसक्ने विशेष प्रकारको जुत्ता तथा लठ्ठीको सहायताले हिउँमा दौडने स्की खेल प्रशिक्षणको पहिलो दिन मुस्ताङ जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

स्की खेल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रख्यात भएको र केही दिन अगाडि मुक्तिनाथ क्षेत्रमै राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न भएकाले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षणको शुरुआत गरिएको गुरुङको भनाइ छ ।

एक सातासम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा युरोप क्षेत्रमा स्कीको प्रशिक्षण दिँदै आउनुभएका सञ्जीव थापा, हिमालय स्की टे«कका राम थापा र होटल सञ्चालक सुरज गुरुङले प्रशिक्षण दिने जनाइएको छ ।

प्रशिक्षणमा मुस्ताङका स्थानीय, मुस्ताङ क्षेत्रमा कार्यरत कर्मचारी तथा अन्य ठाउँबाट पनि खेलाडीहरु सहभागी भएका छन् । मुस्ताङमा बढ्दो मौसमी पर्यटनको विकल्पकारूपमा बेमौसमी पर्यटनको विकासका लागि सोहीअनुसारका खेल प्रतियोगिता तथा प्रशिक्षणको काम गरिएको आयोजकले जनाएको छ ।

“गर्मीको याममा मात्र पर्यटकहरु मुस्ताङमा आउने गर्दछन्, तर हिमपात भएका बेला पनि मुस्ताङ घुम्नुपर्छ भन्ने भावना सिर्जना गर्न हामीले स्की खेलको प्रशिक्षण शुरु गरेका हौँ”, गुरुङले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button